×

वीरगञ्ज । मधेसको विपक्षी दल लोसपाले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नीति तथा कार्यक्रम ल्याउनअघि विश्वासको मत लिनुपर्ने बताएको छ । 

लोसपाका मधेश प्रदेश अध्यक्ष एवं प्रदेश सांसद जितेन्द्र सोनलले सरकारले नीतिगत निर्णय गर्नुअघि विश्वासको मत धारणा राखेका हुन् ।

सोनलले नीतिगत रुपमा महत्वकांक्षी दीर्घकालीन योजनासमेत नीति तथा कार्यक्रममा हुने भएकाले प्रदेशसभाबाट अनुमोदित सरकारले मात्र नीति तथा कार्यक्रम र बजेट ल्याउन मिल्ने तर्क गरे ।

‘नीति तथा कार्यक्रममा वार्षिक, बहुवार्षिक र दीर्घकालीन सबै प्रकृतिको महत्वकांक्षी र गौरवका आयोजना तथा नीतिगत कुराहरु समेटिएको हुन्छ,’ उनले भने,‘ मैले मुख्यमन्त्रीजीलाई पहिला विश्वासको मत लिनु अनि मात्रै नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएँ । तर, उहाँ मान्नु भएन ।’

लोसपा नेता सोनलले विश्वासको मत नलिई नीति तथा कार्यक्रम ल्याएर त्यसको प्रदेशसभाको बैठकमा प्रतिवाद गरिने चेतावनीसमेत दिए । उनले मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्नेमा विपक्षी दल कांग्रेस र जसपासँग पनि सल्लाह भइरहेको बताए ।

सोनलका अनुसार प्रतिनिधिसभामा कांग्रेसको अवरोध र विरोधलाई समाधान गरि मात्र संघीय नीति तथा कार्यक्रम र बजेट आएको, नीति तथा कार्यक्रम ल्याउनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिए ।

मधेश प्रदेश सरकारले भने मंगलबार अपरान्ह नै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री सिंहले दलका सचेतकसँग मंगलबार बिहान गरेको छलफलमा पनि विपक्षी दलले विश्वासको मत लिएर मात्र नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

Back to top