×

वीरगञ्ज । नेपाली काँग्रेसका सांसद अजय कुमार चौरसियाले पर्सा जिल्लामा आँधी, हावाहुरी, असिना, पानीबाट भएको क्षतिबारेमा जानकारी गराउँदा राहत र क्षतिपूर्तिको माग गरेका छन् ।

मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद चौरसियाले पर्सा जिल्लामा भएको क्षतिका विषयमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले कुनै पनि ध्यान नदिएको गुनासो गरे । उनले छिटोभन्दा छिटो प्रभावित जनतालाई राहतको माग गरेका छन् ।

उनले भने, ‘गएको बुधवार राति १२ बजे कमसेकम डेढ सय किलोमिटरको स्पिडमा पर्सा जिल्लाको विभिन्न ठाउँहरूमा आँधी तुफान जस्तो अवस्था थियो । पानी र असिना पनि थियो । दर्जनौँ गाउँको सयकडौँ घरको छानो उडाएको छ । बालीनाली पनि नष्ट भएको छ । बगैचनाका रुख र बिजुलीको पोलहरू ढलेका छन् । बाटो अबद्ध भएका छन् ।’

‘देशमा तीन वटा सरकार छ । कुनै पनि सरकारको पीडितहरूमा क्षतिपूर्ति र राहत दिने कार्य भएको छैन । पर्सामा राहत र क्षतिपूर्तिको व्यवस्था होस्’, सांसद चौरसियाले भने ।

‘मधेसमा खानेपानीको धाराहरू सुक्दै गएको छ । सरकारले कुनै पनि ध्यान दिएको छैन । स्थानीय तह र प्रदेश सरकार कानमा कपास हालेर सुतेको छ । केन्द्र सरकारले खानेपानीको स्रोत सुक्दै गएकोमा ध्यान दिनुपर्छ’, उनले भने ।

Back to top