×

वीरगञ्ज ।  मालपोत कार्यालय पर्साका तत्कालीन ६ मालपोत अधिकृतहरू भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशत्रय टेक नारायण कुँवर, तेज नारायण सिंह राई र राम बहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।

मालपोत कार्यालय पर्सामा कार्यरत रहँदा जग्गाको लिखत पास गर्दा प्राप्त भएको राजश्व रकममध्ये ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपैयाँ राजश्व सरकारी खातामा दाखिला नगरी आफैँ अपचलन गरेको भन्दै अख्तियारले गत कात्तिक २० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा आर्थिक वर्ष २०७१।०७२ मा जग्गा किनबेचका क्रममा भएको लिखतबाट उठेको राजस्व रकम ९रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर० नियम अनुसार सरकारी खातामा दाखिला नगरी हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

अख्तियारको अनुसन्धानपछि तत्कालीन मालपोत अधिकृतहरू हरि नारायण मिश्र, भूप बहादुर बोगटी, गोपाल बहादुर ढुङ्गाना, पदम प्रसाद अर्याल, चन्द्र बहादुर भण्डारीसहित कम्प्युटर अधिकृत कुमोद तिवारी र नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले मालपोत अधिकृत हरि नारायण मिश्र, भूप बहादुर बोगटी, कुमोद तिवारी र किरण प्रसाद उपाध्यायलाई जनही १ करोड २५ लाख ११ हजार ९९० रुपैयाँ ७५ पैसा बिगो कायम गरेको छ । त्यसैगरी गोपाल प्रसाद ढुङ्गानालाई ३५ लाख ४५ हजार ९५० रुपैयाँ, पदम प्रसाद अर्याललाई १६ लाख ८१ हजार ६ सय रुपैयाँ बिगो कायम गरिएको छ ।

दोषी ठहर भएकामध्ये हरि नारायण मिश्र, भूप बहादुर बोगटी, गोपाल प्रसाद ढुङ्गाना, पदम प्रसाद अर्याल र कुमोद तिवारीको सजाय निर्धारणका लागि असार ५ गतेको पेसी तोकिएको छ । किरण प्रसाद उपाध्यायको मृत्यु भइसकेको कारण उनको कायम भएको बिगो उनका छोराहरू राजकिशोर उपाध्याय, गौतम उपाध्याय, पशुपति प्रसाद उपाध्याय र मुरारी उपाध्यायबाट दामासाहीले भराउने फैसला भएको छ ।

प्रतिवादीमध्येका चन्द्र भण्डारीको हकमा ४ लाख ८८ हजार ९२९ रुपैयाँ बिगो कायम गर्दै ६ महिना कैद सजायको फैसला सुनाइएको छ ।

Back to top