×

वीरगञ्ज । मधेश प्रदेशमा बुलेट ट्रेनको आवश्यक्ता नभएको मधेश प्रदेशका प्रदेश सभा सदस्य रहबर अन्सारीले बताएका छन् । आइतवारको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित अन्सारीले मधेश प्रदेशलाई हिरो होण्डा बनाए पनि पुग्ने बताए ।

नवनिर्वाचित मुख्यमन्त्री सतिश सिंहसहितको मन्त्रीमण्डललाई बधाई तथा शुभकामना दिँदै अन्सारीले भने, ‘अहिले मधेशमा बुलेट ट्रेनको जरुरी छैन, मधेशलाई अहिले हिरो होण्डा नै बनाईदिएपनि पुग्छ ।’ 

निवर्तमान मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने समयमा सम्बोधनका क्रममा बोलेको भनाईप्रति अन्सारीले आपत्ती जनाएका छन् । संघीयताको विरोधी प्रधानमन्त्री प्रचण्ड हुन् भन्ने यादवको भनाईप्रति आपत्ती जनाउँदै देशमा आएको परिवर्तनको श्रेय नै प्रधानमन्त्री प्रचण्डलाई जाने बताए । उनले भने, ‘देशमा अहिले आएको परिवर्तन उथलपुथलकै परिणाम हो । त्यसकै फलस्वरुप म अहिले माननीय हुन पाएको छु, दलित समुदायबाट मन्त्री बन्न सफल हुनुभएको छ । अँध्यारो हटेको छ ।’

पुर्व मुख्यमन्त्री सरोज यादवलाई उदास नहुन आग्रह गर्दै उनले केही दिनका लागि होस्टेलमा बसेर अझै सुध्रिएर आउन अनुरोध गरे । हामीले जनताको लागि र देशका लागि राजनीतिक गरेका स्मरण गर्दै सिद्धान्त र नैतिक धरातललाई बिर्सिर राजनीतिक गर्दा राजनीतिक संगठन गिरोहमा बदलिने अन्सारीको भनाइ छ ।

आज सरकार पक्षमा छौँ भने भोली प्रतिपक्षमा पनि हुन सक्छौ भन्ने कुरा आफ्नै पार्टीका मुख्यमन्त्रीलाई पूर्व मुख्यमन्त्री लालबाबु राउतले सम्झाउन नसकेको उनले टिप्पणी गरे । उनले भने, ‘लालबाबु राउतले ५ वर्ष सरकार चलाए जस्तै म पनि ५ वर्ष चलाउँछु भन्ने ह्यांगओभरमा सरोज यादव हुनुहुन्थ्यो ।’ 
 

Back to top