×

वीरगञ्ज । देशभरका कुखुरामा फैलिएको ‘एच ९’ भाइरस संक्रमणका कारण कुखुरा मरेर अण्डा उत्पादन घट्दा पछिल्लो १ महीनामा यसको मूल्य अचाक्ली बढेको छ । 

एक महीना अघिसम्म देशभर दैनिक करीब ५० देखि ५५ लाख गोटा अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर २४ देखि २५ लाख हाराहारीमा सीमित भएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष प्रवीण केसीले बताए । मागको तुलनामा उत्पादन कम भएपछि अण्डाको भाउ एक्कासि आकाशिएको उनले बताए ।

उनका अनुसार गर्मीयाममा रोगको संक्रमण फैलिएपछि देशभरि करीब १५ लाख लेयर्स कुखुरा मरेका छन् । यसबाट अण्डा उत्पादन प्रभावित भयो । यो रोग लागेपछि कुखुराको अण्डा उत्पादन क्षमतामा पनि ह्रास आउने विज्ञहरू बताउँछन् ।

महीना दिन अघिसम्म प्रतिक्यारेट ४८० रुपैयाँ रहेको ठूलो अण्डाको खुद्रा मूल्य अहिले ६ सय रुपैयाँ पुगेको छ । मध्यम अण्डाको खुद्रा मूल्य ४६५ रुपैयाँ प्रतिक्यारेटबाट बढेर ५८० रुपैयाँ कायम भएको छ । त्यसैगरी ४५० रुपैयाँ पर्ने सानो अण्डाको मूल्य बढेर प्रतिक्यारेट ५६५ रुपैयाँ 

पुगेको केसीले बताए । एच–९ भाइरसले बर्डफ्लु रोगजस्तो उच्च मृत्युदर नदेखाए पनि कहिलेकहीँ यो भाइरससँगै अन्य रोगको संक्रमण भए फार्मका पूरै कुखुरा मर्छन् । यसरी कुखुरा मरे बर्डफ्लुमा जस्तो राहत क्षतिपूर्ति नपाइने अण्डा उत्पादक किसान बताउँछन् । 

एच–५ बर्डफ्लु भाइरसको संक्रमणले कुखुरा मरे मात्रै राहत पाइने सरकारी नीति छ । पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार एच ९ भाइरस बर्डफ्लुकै एक प्रजाति हो । विशेष गरी यो अण्डा दिने जातका कुखुरामा यसको संक्रमण फैलिन्छ । यसले कुखुराको प्रजनन क्षमता घटाई अण्डा उत्पादनमा कमी ल्याउँछ । 

उत्पादन क्षमतामा ह्रास ल्याउने भए पनि बर्डफ्लु जस्तो मान्छेमा नसर्ने भएकाले नेपाल सरकारको संक्रमण रोग निन्त्रण नियमावलीले यस्तो रोगको क्षतिपूर्ति पनि नदिने उनले बताए । यसको रोकथाम तथा नियन्त्रणका लागि नेपालमा हालसम्म खोप दिने गरिएको छैन । खोप प्रयोगमा जाने कि नजाने भन्ने निर्णय सरकारले गरिसकेको छैन । 

तत्कालका लागि किसानले रोकथामका जैविक उपाय अपनाउनुपर्ने विज्ञहरू बताउँछन् । त्यसका लागि सरसफाइमा ध्यान दिने, संक्रमण भएको फार्मबाट अन्य कुखुरालाई जोगाउने गर्नुपर्छ ।

Back to top