×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ निवासी राजकिशोर प्रसाद कलवारले बिहे अगावै आफ्ना छोरा रितुराजलाई अंशवण्डा गरिदिए । उनलाई आफ्नो छोराको चरित्र र व्यहोराका बारेमा थाहा भएपछि छोरालाई थोरै सम्पती दिएको खुलेको छ । 

अंशबण्डा भएको केही समयपछ रितुराजले बिहे गरे । सुनौलो भविष्यको आशमा रितुराजसँग बिहे गरी सिर्जना (परिवर्तीत नाम) को जीन्दगी डामाडोल भएको छ । बिहे भन्दा अघि भारतमै राम्रो सेवा सुविधासहितको जागिर गर्दै आएकी उनी अहिले घर न घाटकी भएकी छन् । न त उनलाई पती रितुराजले घरमा बस्न दिएका छन् न त उनले पतीबाट अंश नै पाएकी छन् । 

कसरी आयो सम्बन्धमा दरार ?
बिहे गरेर भारतको मुम्बईमा २ वटा कोठाको फ्ल्याट लिएर दुवै जना बस्न थाले । उनीहरुले उतै काम गर्थे । पत्नी सिर्जना शाकाहारी हुन् । तर पनि उनले पतीको दबाबमा माछा मासु पकाएर दिन्थिन् । बिस्तारै पती रितुराजको व्यवहारमा परिवर्तन देखिन थाल्यो । उनी काममा कम र कोठामा बढी समय बिताउन थाले । कोठामा पनि अबेर रातीसम्म साथीहरुसँग मादक पदार्थ पिएर मात्तिन थाले ।

पत्नी सिर्जनालाई विभिन्न बहानामा सताउन थाले । पतीलाई पकाएर खुवाउँदै आएकी उनले अबेर रातीसम्म पतीका साथीहरुलाई पनि खाना पकाएर दिन थालिन् । सिर्जनाले पती रितुराजलाई यसरी कोठामा बसेर हुँदैन, काम गर्नुपर्छ रातिरातिसम्म साथीहरुलाई कोठामा राख्न हुँदैन भनेर सम्झाउँदा उल्टै उनीमाथि कुटपिट हुन थाल्यो । यति मात्रै हैन, एक दिन जोडले वर्षा भइरहेको अवस्थामा पिटेर पती रितुराजले फ्ल्याटबाट बाहिर समेत निकालिदिए । 

रितुराजले आफुमाथि गरेको अत्याचार ससुरा राजकिशोरलाई सुनाउँदा जागिर छोडेर वीरगञ्ज आउन ससुराले आग्रह गरे । सिर्जनाले जागिर छोडिनन् तर बिदा लिएर वीरगञ्ज आइन् । सासु ससुराले सिर्जनालाई जागिर छोड्न दबाब दिए । पती रितुराजलाई पनि जागिर छोडेर बुबाले घरमा बोलाए । दुवै जनाले जागिर छोडेपछि गुजारा कसरी चलाउने भन्नेमा सिर्जनालाई चिन्ता हुन थाल्यो । उनले घरमा सासु, ससुरा र श्रीमानसँग भनिन्, ‘हामी कामकाज छोडेर यत्तिकै बसेपछि खर्च कसरी चल्छ ? हाम्रो घर पनि छैन, सम्पती पनि थोरै छ ।’

पती रितुराजले जवाफ दिन्छन्, ‘तिम्रो घरमा दाइभाइ छैनन्, तिम्रो बुबासँग पैँसा माग न, हामी व्यापार व्यवसाय गरेर बसौँला ।’ पत्नी सिर्जनाले आफ्नो बुबासँग पैँसा नभएको बताइन् । उनले भनिन्, ‘भएभरको सम्पती हाम्रो बिहेमा सकियो, अझै बहिनीको बिहे गर्न बाँकी छ, मेरो बुबासँग पैँसा छैन ।’ त्यसपछि श्रीमानसँगै सासु र ससुराले मिलेर कुटपिट गरेर घरबाट निकालिदिएको सिर्जनाले दुखेसो पोखिन् । 

रितुराजले हाले सम्बन्ध बिच्छेदको मुद्दा

घरबाट निकालिदिएपछि सिर्जना पुनः भारतमै फर्किएर काम गर्न थालिन् । शारिरीक र मानसिक रुपमा तनाब भएपनि उनले काम गरीरहेकी थिइन् । तर केही समयमै उनले पर्सा जिल्ला अदालतको इमेलमार्फत सूचना पाउँछिन् । जुन सूचनाले सिर्जनालाई छाँगाबाट खसे जस्तै बनाउँछ । उनी र माइती पक्षलाई खबरै नगरी रितुराजले पर्सा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरे । जिल्ला अदालतले दाबी नपुग्ने ठहर गरेपछि रितुराजले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन दिए । 

आफूलाई थाहै नदिई सम्बन्ध बिच्छेदको मुद्दा दिन सक्ने व्यक्तिमाथि सिर्जनालाई विश्वास लागेन । घरमा पनि बस्न नदिने भएपछि सँधैभरी माइतीमा बस्न नहुने सोचेर उनले पती रितुराजसँग आफ्नो अंश पाउनुपर्ने माग गरिन् । सहमतीमा अंश नदिएपछि सिर्जनाले पनि पतीविरुद्ध अंश पाउनुपर्ने मागसहित पर्सा जिल्ला अदालतमा रिट दायर गरिन् । पर्सा जिल्ला अदालतले सिर्जनाकै पक्षमा फैसला गरेपछि उक्त फैसलाको विरुद्ध पनि रितुराजले जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन दिए । रितुराजले पत्नीलाई अंश दिन आनाकानी गर्दै आएका छन् । 

रितुराजले घरमा पनि नराख्ने, अंश पनि नदिने भएपछि अहिले सिर्जनाको बिचल्ली भएको छ । छोरीलाई डोली चढाएर विदाई गरेका बुबा पनि यतिबेला छोरीको भविष्यलाई लिएर चिन्तीत छन् । चिन्ता झनै बढ्नुको कारण अदालत र प्रशासन धाउनुको सास्ती पनि हो । रितुराज वीरगञ्जकै स्थानीय हुन् । सिर्जना भारतमै बस्छिन् । रितुराजले पैँसा र पावरको धाक देखाउँदै दुःख दिइरहेका छन् । ‘म यहाँको लोकल हुँ, मेरो राजनीतिक पहुँच पनि छ । तिमीहरु मेरो केही बिगार्न सक्दैनौ’ रितुराजले भन्ने गरेका छन् । रितुराज अहिले बेरोजगार छन् । बाबुको पैतृक सम्पतीको भरमा उनले धाकधम्की दिने गरेको सिर्जनाको आरोप छ । 
 

Back to top