×

वीरगञ्ज । वीरगञ्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरले सरकारबाट २५ शय्याको इजाजत लिएको भएपनि ६० भन्दा बढी श्यामा बिरामी राखेर उपचार गर्दै आएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका – ८ मा विगत साढे चार वर्षदेखि सञ्चालनमा रहेको प्रभु हस्पिटलले प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट २५ शय्या मात्र सञ्चालनको इजाजत लिएको छ । तर मङ्गलवार वीरगञ्ज महानगरपालिकाले गरेको अनुगमनका क्रममा अनुमति विपरीत उक्त अस्पतालले ६३ शय्या राखेर सञ्चालन गरिरहेको पाइएको महानगरबाट अनुगमनमा गएको टोलीमा सहभागी महानगरको स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले बताए ।

मङ्गलवार वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य समितिका संयोजक उमाशंकर तिवारीको नेतृत्वमा महाशाखाको टोलीले प्रभु हस्पिटल र नीलकण्ठ अस्पतालको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा प्रभु हस्पिटलले सरकारबाट २५ शय्या सञ्चालनको अनुमति लिएको भए पनि हाल ६३ शय्या राखेर बिरामीहरूको उपचार गरिरहेको भेटिएको स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए । उनले भने, ‘यो सरासर गैर कानुनी हो । जति बेडको अनुमति लिएको छ त्यो भन्दा बढी एक बेड पनि सञ्चालन गर्न पाइँदैन ।’

यस्तै प्रभु हस्पिटलमै अनुगमनका क्रममा बिरामीको उपचारमा प्रयोग गरिने केही औषधीहरू म्याद गुज्रिएको अवस्थामा भेटिएको अनुगमन टोलीका संयोजक तिवारीले जानकारी दिए । उनका अनुसार अस्पतालको आइसियु कक्ष र ल्याबमा म्याद गुज्रिएका ८ प्रकारका औषधिहरू भेटिएका छन् । 

ल्याबमा म्याग्लुमी र एपटीटी किट् तथा आइसियु कक्षमा हेपारिन सोडियम, एल्बुमिन किट, एपटीटी किट्, म्याग्नीओन, एमीओडन, ग्युडेल र बेटाडिन नामका औषधीहरू म्याद गुज्रिएर प्रयोग गर्न अयोग्य रहेको अवस्थामा भेटिएको संयोजक तिवारीले बताए । उनले भने, ‘ती मध्ये केही औषधिको म्याद ४ बर्ष पहिले नै गुज्रिसकेको रहेछ । केही औषधिको एक्स्पायरी डेट २ महिना पहिलेको थियो ।’

यस्तै प्रभु अस्पतालमा सञ्चालित ल्याब पनि अस्पतालको भुइँ तल्लामुनि बनाइएको अन्डर ग्राउन्ड पार्किङमा सञ्चालन भइरहेको अवस्थामा भेटिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए । उनले भने, ‘सवारी पार्किङका लागि बनाइएको अन्डर ग्राउन्डमा ल्याब सञ्चालन गरिएको रहेछ । जुन कानुन विपरीत छ ।’ बेसेन्टमा सञ्चालन गर्नु नै नियम विपरीत रहँदा रहँदै पनि उसले पाएको अनुमति अनुसारको क्षेत्रफलको मापदण्ड पनि नपुगेको भेटिएको अनुगमन समितिका सदस्य समेत रहेका सब इन्जिनियर कुन्दन ठाकुर बताउँछन् । ‘बि क्याटोगोरिमा दर्ता रहेको ल्याब कम्तीमा पनि १५ सय वर्ग फिटमा सञ्चालन हुनुपर्छ । उक्त ल्याब ५ सय वर्ग फिटमा पनि छैन ।’ यस्तै ल्याबमा सरसफाइको व्यवस्थापन पनि सन्तोषजनक अवस्थामा नभेटिएको अनुगमन समितिले जनाएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका – १३ पावर हाउस चोक नजिकै सञ्चालनमा रहेको नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरले पनि १५ शय्याको अनुमति लिएर ३३ शय्या राखेर बिरामीको उपचार गरिरहेको पाइएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए ।

यादवका अनुसार नीलकण्ठ हस्पिटलले वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट १५ शय्या मात्र सञ्चालनको इजाजत लिएको छ । उनले भने, ‘मङ्गलवार नै हामीले नीलकण्ठ हस्पिटलमा पनि अनुगमन गरेका थियौँ । १५ शय्याको मात्र अनुमति लिएर उसले पनि गैर कानुनी रूपमा ३३ शय्या सञ्चालन गरिरहेको भेटियो ।’

अनुगमनका क्रममा उक्त अस्पतालका विभिन्न विभाग र कक्षबाट पनि म्याद गुज्रिएका औषधिहरू भेटिएको यादवले जानकारी दिए । उनका अनुसार नीलकण्ठ अस्पतालको शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) मा एट्रोपाइन सल्फेट, पायरोलेट, लिडो र आर्याडाइन तथा आकस्मिक कक्षमा एट्रोपाइन सल्फेट, फेनोटन सोडियम र प्लसफ्रलोन नामका औषधि म्याद गुज्रिएको अवस्थामा भेटिएको हो ।

महानगरपालिकाको अनुगमन टोलीले केही समय यता यहाँ सञ्चालित अस्पतालहरूको निरन्तर अनुगमन गरिरहेको छ ।

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले बिरामीको स्वास्थ्यसँग खेलबाड गरिरहेका दुवै अस्पतालमाथि महानगरले कारबाही गर्ने बताए । उनले भने, ‘प्रभु हस्पिटल प्रदेश सरकारबाट २५ शय्याको इजाजत लिएको अस्पताल भएकाले उसका विरुद्ध कारबाहीका लागि महानगरले पत्र लेखेर सिफारिस गर्छ । त्यस बाहेक उसले वीरगञ्जकै बिरामीको जीवनसँग खेलबाड गरेकाले महानगरले पनि छुट्टै कारबाही गर्छ ।’

महानगरबाट १५ शय्याको अनुमति लिएको नीलकण्ठ अस्पतालका सन्दर्भमा भने महानगर आफ्नै कानुन अनुसार कारबाही गर्ने मेयर सिंहले बताए । उनले भने, ‘एक त कानुनलाई मिचेर उसले १५ बेडको सट्टा ३३ बेड सञ्चालन गरिरहेको छ । त्यसैमा डेट एक्स्पायर औषधिले बिरामीको उपचार पनि गरिरहेको रहेछ । दुवै अस्पताललाई महानगरले हदैसम्मको कारबाही गर्छ ।’

यता प्रभु हस्पिटलका अध्यक्ष तथा सञ्चालक डाक्टर मनोज गुप्ताले भने आफ्नो अस्पतालले २५ शय्याको अनुमति लिएको तर त्यो भन्दा बढी एक शय्या पनि सञ्चालन नगरेको जिकिर गरे । उनले भने, ‘२५ शय्याबाट १ सय शय्याको सञ्चालनको तयारी गरिरहेका छौँ । त्यसैका लागि थप शय्याहरू किनेर राखेका मात्रै हो । तर २५ शय्या भन्दा बढी एक श्यामा पनि बिरामीको उपचार गरेका छैनौँ । १ सय शय्याको इजाजतका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेका छौ ।’

म्याद गुज्रिएका औषधि भेटिएको सन्दर्भमा भने डाक्टर गुप्ताले कर्मचारीको केही लापरबाहीका कारण ती औषधिहरू ल्याब र आइसियुमा भेटिएको बताए । उनले भने, ‘तर बिरामीको उपचारका लागि ती औषधि राखिएको होइन । हामीले डेट एक्स्पायर औषधि बिरामीको उपचार प्रयोग गर्दै गर्दैनौँ ।’


 

Back to top