×

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा तालाबन्दी गरिएको छ । जालझेल र नियतबस नेपाल पत्रकार महासंघको सदस्यता सूचीबाट केही क्रियाशिल पत्रकारलाई हटाइएको भन्दै समाजवादी प्रेस संगठन नेपाल पर्साले कार्यालयमा तालाबन्दी गरेको हो । 

मापदण्ड पूरा गरेपनि केही क्रियाशिल पत्रकारलाई सदस्यता नदिएको प्रति समाजवादी प्रेस संगठनको आपत्ती रहेको संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनले बताए । सदस्यता सूची सच्याउनका लागि आग्रह गर्दै उनले नसच्चिएसम्म अनिश्चितनकालिन तालाबन्दी गरिने बताए । 

समाजवादी प्रेस संगठनको केन्द्रीय समितिले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पनि तालाबन्दी गरेको छ । संगठनको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला शाखामा पनि तालाबन्दी गरिएको उनको भनाई छ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले सार्वजनिक गरेको सूचीमा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवानको सदस्यता हटाएको र संगठन पर्साका सहसचिव श्याम सर्राफको सबै प्रक्रिया पूरा भएपनि सदस्यता नदिएको प्रति संगठनले आपत्ती जनाएको छ । 

केन्द्रीय समितिले महासंघको विधान विपरित गएर बलमिच्याई गरेको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको भनाई छ । जिल्ला शाखाले सिफारिस गरेको नयाँ सदस्यता र नविकरणको विपरित केन्द्रले सिफारिस नै नगरेको नामहरु सूचीमा रहेको अध्यक्ष तिवारीले बताए । उनकाअनुसार जिल्ला शाखाले सिफारिस नै नगरेका र फरार सूचीमा रहेका मान्छेको नाम समेत महासंघले सार्बजनिक गरेको सूचीमा हुनु आश्चर्यजनक कुरा हो । यसमा महासंघको केन्द्रीय समितिले विधान विपरित गरेको उनको ठहर छ ।

नविकरण नगर्ने भनिएपनि व्यक्तिहरुको नाम पनि समावेश गर्नु, कसैले नचिनेका र पत्रकारिता नै नगरेका व्यक्तिको नाम पनि राखिएकोमा महासंघले विरोध गरीरहेको तिवारीले बताए । उनले भने, ‘हामी १४० जनाको अन्तिम सूची थियो । तर यी बाहेक पनि नामै नचिनेका व्यक्तिको नाम महासंघले सार्वजनिक गर्दा हामी आश्चर्य चकित भएका छौँ । यो सरासर विधान विपरित हो । यो गलत कामको हामी विरोध गरीरहेका छौँ ।’ 

शाखाले आवेदन खोल्ने, आवेदनको छानविन गरी प्रदेशलाई पठाउने र प्रदेशमा उजुरी परेपछि शाखाको समन्वयमा छानविन गरी केन्द्रमा अभिलेखीकरणका लागि पठाउने महासंघको विधानमा स्पष्ट व्यवस्था गरिएको छ । तथापी विधान विपरित क्रियाशिल पत्रकारको नाम हटाएर मनोबल गिराउने र पत्रकारिता पेशामै नभएकालाई सदस्यता दिएर पत्रकारिता पेशाको बदनाम गराउने कार्य कदापी सह्य नहुने अध्यक्ष तिवारीको अडान छ । 

सूची नसच्चिएसम्म पर्सा शाखाले अधिवेशन र निर्वाचनको कुनै प्रक्रिया अघि नबढाउने चेतावनी पनि अध्यक्ष तिवारीले दिएका छन् । उनले यात्रा डेलीसँगको संवादमा भने, ‘लुम्बिनीको सञ्चार भेलाले गरेको निर्णय र शाखाले गरेको सिफारिस कार्यन्वयन नभएसम्म हामी अधिवेशन र निर्वाचनको कुनै पनि प्रक्रिया अघि बढाउँदैनौ ।’
 

Back to top