×

भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको हो । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । 

‘आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ । शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ । सहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको सङ्ख्यामा दमकल परिचालन गरिएको थियो ।

अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ । गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्टसर्किटका कारण आगलागी भएको जनाइएको छ । तर आधिकारिकरुपमा भने यसबारे कुनै पुष्टि भइसकेको छैन । 

त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

Back to top