×

वीरगञ्ज । वीरगञ्जमा एक सञ्चारकर्मी र ट्राफिक प्रहरी बीचको विषयले उग्र रुप लिएको छ । माई टेलिभिजनमा समाचार प्रस्तोताका रुपमा कार्यरत सुस्मिता यादवले आफुमाथि ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाइन् । 

उनले आरोप मात्रै लगाइनन्, कारवाहीको माग गर्दै अनसनसमेत बसिन् । शुक्रवार बेलुकी वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्नुका साथै उनी रातभरी अनसनमा बसिन् । ट्राफिक प्रहरीले आफुमाथि अभद्र व्यवहार गरेको र धम्की दिएको उनको भनाई छ । उनले भनीन्, ‘हामी पनि नियमको पालना गर्छाै, तर फिता नलगाउँदैमा चिट काट्ने अनि नागरिकलाई सास्ती दिने ।’ यसका अलावा उनले महिला सेलमा लिएर जाने धम्की समेत प्रहरीले दिएको आरोप लगाइन् । 

वीरगञ्जको बाइपास रोड नगवा पोखरीस्थित सडकखण्डमा ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाकाअनुसार सुस्मिता यादवका श्रीमानले फिता नलगाएर हेल्मेट लगाएका थिए । प्रहरी निरीक्षक खतिवडाले यात्राडेलीसँग भने, ‘फिता नलगाउनु भनेको हेल्मेट नलगाउनु जत्तिकै हो, त्यसैले फिता नलगाएपनि ट्राफिक नियमको उल्लंघन गरेको भनेर कारवाही स्वरुप ५ सय रुपैयाँको रसिद काटिएको हो ।’ रसिद काटेपछि श्रीमानले सुस्मितालाई फोन गरेर बोलाएपछि उनले मोवाइलमा भिडियो बनाएको ट्राफिक प्रहरीको प्रतिक्रिया छ । 

चेकजाँच गर्ने ठाउँमा महिला प्रहरी कोही नभएको हुँदा महिला सेलमा गएर विस्तृत बुझ्नका लागि ट्राफिक प्रहरीले आग्रह गर्नुलाई सुस्मिताले धम्की सोचेको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले यात्रा डेलीसँग भने । ट्राफिक प्रहरीले गल्ती नै गरेको भएपनि आफुले ट्राफिक प्रहरीलाई सम्झाउन समेत तयार भएको उनले बताए । 

सुस्मिताले भने महिला सञ्चारकर्मीमाथि अभद्र व्यवहार गर्दा पनि पर्सेली पत्रकारले साथ नदिएको आरोप लगाएकी छिन् । यस विषयमा सुस्मिता कार्यरत माई टेलिभिजनका किरण सत्यालले अनसन बस्ने बारेमा सञ्चार गृह अनभिज्ञ रहेको बताए । उनले भने, ‘हामीले सल्लाह सुझाव दिइरहेका थियौँ, जिल्ला ट्राफिकलाई ध्यानाकर्षण गर्न लगाउँथ्यौँ, विज्ञप्ती पनि लेखिएको थियो, तर उहाँले हामीलाई जानकारी नै नदिएर अनसन बस्नुभएछ ।’ 

नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवकाअनुसार महासंघको सदस्यता शुद्धिकरण तथा विवादको विषयलाई लिएर अध्यक्ष अनुप तिवारीसहितको टोली काठमाण्डौमा छ । ‘शनिवार बेलुका वीरगञ्ज पुगेर आइतवार दुवै पक्षबिच छलफल गरी आवश्यक निचोड निकाल्ने तयारी महासंघको थियो’, सचिव यादवले यात्रा डेलीसँग भने । 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जुस पिलाएर अनसन तोडाएका छन् । उनकाअनुसार घटनामा दुवै पक्षबीच सहमती भइसकेको छ । दुवैपक्षबीच छलफल गरेर मिलापत्र गरिएको खेतानले यात्रा डेलीलाई बताए । 

Back to top