×

वीरगञ्ज । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’को टोली छायांकनका लागि वीरगञ्ज पुगेको छ । बैशाख १० गतेदेखि जनकपुरबाट सुरु गरिएको फिल्मको छायांकन वीरगञ्जमा गर्न लागिएको हो । 

निर्देशक थापासहित फिल्मका कलाकारहरु पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ लगायतका कलाकारको टोली शुक्रवार बिहान वीरगञ्ज पुगेको हो । वीरगञ्जको माइस्थानस्थित गहवा माई मन्दिरमा छायांकन भइरहेको फिल्मका निर्देशक थापाले यात्राडेलीसँग बताए । 

यसअघि सर्लाहीको लालबन्दीमा पनि छायांकन गरिएको छ । एक्सन तथा लभस्टोरी कथामा बन्न लागेको फिल्ममा प्रियंका कार्की, पूर्व मिस नेपाल निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको पनि अभिनय रहनेछ । साथै वीरगञ्जकै कलाकार अजमत अली अन्सारी पनि फिल्ममा अनुबन्धित भएका छन् । 

फिल्ममा पल एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् । यसका लागि उनले २२÷२५ दिन एक्सनको बन्द प्रशिक्षण समेत लिएका थिए । फिल्ममा उनी दोहोरो भूमिकामा देखिनेछन् । सुदर्शन थापा र पूजा शर्माको संयुक्त निर्माण रहने फिल्मको आगामी भदौ २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । शिवम् अधिकारीको लेखन रहेको फिल्मको छायांकन सौरभ लामाले गरीरहेका छन् । 
 

Back to top