×

वीरगञ्ज । महिला हिंसा घट्नुको साटो झनझन बढ्दै गएको वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । दलित महिला केन्द्र नेपालले वीरगञ्जमा आयोजना गरेको ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्नका लागि अन्तरपार्टी महिला सञ्जालको भूमिका’ विषयक कार्यशालाका सहभागीहरुले हिंसा बढ्दै गएको बताएका हुन् । 

पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मीला बिष्ट अहिले पनि हिंसाका बारेमा सचेतना नभएको बताउँछिन् । उनले भनिन्, ‘हामीलाई हिंसा के हो भन्ने पनि थाहा छैन, श्रीमानबाट कुटिनु वा गाली खानु सामान्य जस्तै लाग्छ र सहेरै बस्छन् ।’ श्रीमानले कुट्नु वा घरायसी काममा लादेर श्रीमतीलाई नियन्त्रणमा राख्नु हिंसा हो भन्ने समेत थाहा नभएको उनको भनाई छ । 

ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीकाअनुसार पर्साका अन्य स्थानीय तहको तुलनामा ठोरीमा हिंसा सम्बन्धी घटना कम हुने गरेका छन् । अधिवक्ता चन्द्रिका प्रसाद पटेलले अदालतमा आउने हिंसाका घटनामा कमी नआएको तर्क गर्छन् । उनकाअनुसार हिंसा सम्बन्धी घटनाका उजुरी पहिलेको तुलनामा झनै बृद्धि भएका छन् । 
नेपाली कांग्रेसकी नेतृ एवम् अन्तर पार्टी महिला सञ्जाल मधेश प्रदेशकी कोषाध्यक्ष किरण सरकारले राजनीतिमा पनि महिलाहरु हिंसामा पर्ने गरेको बताइन् । नीति निर्माण गर्ने तहमै महिलालाई हिंसा हुने भएपछि अरु ठाउँमा नहुने कल्पना पनि गर्न नसकिने उनको बुझाई छ । 

व्यवसायीक क्षेत्रमा महिलाले काम गर्न खोज्दा पनि पितृसत्ताले जगडीएको समाजले नपत्याउने नेपाल ब्युटिसियन संघकी केन्द्रीय कोषाध्यक्ष उर्मिला थापाले बताइन् । हिंसाको प्रतिकार गर्न तथा आवाज उठाउनका लागि महिला सशक्तीकरण हुनुपर्नेमा पूर्व मन्त्री करिमा बेगमको जोड दिइन् ।

नारायणी अस्पतालकी नर्सिङ् निरीक्षक हेमा थापाले समाजमा अझै पनि सचेतनाको कमी भएको प्रति चिन्ता व्यक्त गरिन् । विद्यालय तहमा पनि हिंसा तथा प्रजनन स्वास्थ्य सम्बन्धी पठनपाठन प्रभावकारी रुपमा नहुने गरेकोमा उनको आपत्ती छ । नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) की प्रमुख समेत रहेकी थापाकाअनुसार ओसीएमसीमा आउने हिंसाको संख्या पनि बढ्दो क्रममा छ । ११ देखि १८ वर्ष उमेर समूहका किशोरीहरुमाथि हुने हिंसाको संख्या अरुको तुलनामा बढी रहेको थापाले बताइन् । 

प्रेम सम्बन्धका कारण किशोरीहरु हिंसामा पर्ने गरेको उनको भनाई छ । ओसीएमसीले हिंसामा परेकाहरुको निःशुल्क उपचारसँगै परामर्श, मनोचिकित्सक, सबुत संकलनदेखि प्रहरी प्रशासनमा उजुरी तथा कानुनी प्रक्रियामा पनि सघाउने थापाले जानकारी दिइन् । हिंसा पिडितलाई राख्नका लागि सुरक्षित आवास गृहको अभावमा समस्या भइरहेको उनको भनाई छ । आवास गृह निर्माणका लागि सबै स्थानीय तहले सहयोग गर्न पनि उनले अनुरोध गरिन् । साथै उनले असुरक्षित तवरले हुने गर्भपतनलाई कम गर्न पनि सरोकारवालाको ध्यानाकर्षण गराइन् । 

मधेश प्रदेशकी प्रदेश सभा सदस्य बिना शर्माले हिंसा न्युनिकरणका लागि हातेमालो गर्नुपर्ने आवश्यक्ता औँल्याइन् । आफुआफुमा लडेर अधिकार प्राप्ती नहुने उनको धारणा छ । हक र अधिकारका लागि संगठीत भएर लडाई लड्नुपर्नेमा उनले जोड दिइन् । 

कार्यशालामा अधिकारकर्मी एवम् महिला विज्ञ सरु जोशी श्रेष्ठले हिंसाका प्रकारसँगै हाम्रो समाजमा देखिने हिंसाका प्रकृती र हिंसा न्यूनिकरणका लागि अपनाउनुपर्ने सावधानका बारेमा प्रशिक्षण दिएकी थिइन् । औपचारिक रुपमा मात्रै समानता नभएर परिणाममुखी समानताको खाँचो रहेको उनको भनाई छ । संरचनागत हुने हिंसा तथा स्वरुप फेरिएर अदृश्य रुपमा हुने हिंसा शैक्षिक जमातबाटै हुने गरेकोमा उनले चिन्ता व्यक्त गरिन् । 

कार्यक्रममा दलित महिला केन्द्रकी उपाध्यक्ष एवम् पूर्व प्रतिनीधि सभा सदस्य दुलारी हरिजनले हिंसा न्यूनिकरणका लागि केन्द्रले कार्यक्रम गर्दै आएको बताइन् । कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्दै उनले मधेश प्रदेशका पर्सा, बारा र सिराहा जिल्लामा ‘महिला तथा किशोरी माथि हुने हिंसा विरुद्ध लडाई’ परियोजना सञ्चालन भइरहेको जानकारी गराइन् । यस परियोजनाबाट तीन वर्षमा २ सय भन्दा बढीलाई हिंसा र हिंसाबाट जोगिने उपायका बारेमा सचेत बनाइएको उनको दाबी छ । 

महिला तथा बालिकामाथि हुने मात्रै नभएर यौनिक तथा लैंगिक अल्पसंख्यक एवम् सामाजिक कुरिती तथा विभेदका विरुद्ध केन्द्रले काम गर्दै आएको दलित महिला केन्द्रकी अध्यक्ष लक्ष्मी परियारले बताइन् । सहेर बस्दा झनै हिंसा हुने हुँदा आवाज उठाउनुपर्ने आवश्यक्ता उनले औँल्याइन् । पूर्व सांसदसमेत रहेकी परियारकाअनुसार हाम्रो देश हिंसा विरुद्ध कानुन निर्माणमा उत्कृष्ट भएपनि कार्यन्वयनको मामिलामा कमजोर छ । तसर्थ कार्यन्वयन गर्ने निकायलाई खबरदारी गर्नुपर्ने र हिंसालाई अन्त्य गर्नुपर्नेमा उनको जोड छ । 

पर्सा जिल्लाको ठोरी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा परियोजना सञ्चालन भइरहेको पर्साकी परियोजना प्रमुख निला रामले बताइन् । यस परियोजनाबाट किशोरी र महिलालाई हिंसाका बारेमा सचेत बनाउनेदेखि सशक्तीकरण गराउने खालका कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । 

दलित महिला केन्द्रकी कार्यक्रम संयोजक सजना तोलुङ्गेकाअनुसार यही कार्यशाला बारामा बुधवार सम्पन्न भइसकेको छ । पर्सा लगत्तै सिराहामा पनि कार्यशालाको आयोजना गरिने उनले जानकारी दिइन् । 

Back to top