×

 बलिउड स्टार अक्षय कुमारले एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेका छन् ।

 अहिले उनी ‘वेलकम’ फ्रेन्चाइजको तेस्रो भाग ‘वेलकम टु द जंगल’का लागि चर्चामा छन् । फिल्ममा अक्षय कुमारसँगै सुनील शेट्टी, परेश रावल, अरशद वारसी, लारा दत्ता, श्रेयस तलपदे, रविना टन्डनलगायत कलाकारहरू छन् । 

 फिल्ममा सञ्जय दत्त पनि थिए । यद्यपि उनी अहिले यो फिल्मको हिस्सा छैनन् । पिंकभिलाको समाचार अनुसार सञ्जय दत्तले आफ्नो स्वास्थ्य समस्याका कारण यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए । अभिनेतालाई फिल्ममा एक्सन सिक्वेन्स छायाङ्कनमा कठिनाइ भइरहेको थियो ।

बलिउड हंगामाको समाचारमा भने सञ्जय दत्तले समय नमिलेपछि फिल्म अस्वीकार गरेको बताइएको छ । उनले यसबारे अक्षय कुमारलाई पहिल्यै बताइसकेका थिए । फिल्ममा सञ्जय दत्तको महत्त्वपूर्ण भूमिका थियो । यसका साथै उनले केही पार्ट सुट पनि गरिसकेका थिए । तर, बिचमा उनले फिल्मबाट हात झिके । यसबारे निर्माताहरूबाट अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन । 

यो फिल्मले दर्शकलाई त हँसाउने छ नै यस अघि कहिले फ्रेन्चाइजीमा देख्न नपाइएको एक्सन सिन पनि हेर्न पाइने बताइएको छ । मिडिया रिपोर्टका अनुसार निर्माताहरू केही फरक र केही नयाँ ट्रिकहरु जोडेर यो फिल्मलाई निकै शक्तिशाली बनाउन चाहन्छन् । फिल्ममा पावर प्याक्ड एक्सन सिक्वेन्सका लागि २०० घोडा पनि भाडामा लिइएको बताइएको छ ।

Back to top