×

वीरगञ्ज । गौतम माद्यामिक विद्यालयका विद्यार्थीलाई भारतीय चलचित्र ‘श्रीकान्त’ देखाइएको छ । वीरगञ्जको आदर्शनगरस्थित स्काईलाइन मलमा सञ्चालिन क्युएफएक्स सिनेमा हलमा गौतम माविका कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई  शिक्षा प्रणालीसँग सम्बन्धीत फिल्म देखाइएको हो । शैक्षिक सत्र २०८० मा कक्षा ५ देखि ९ सम्मका प्रथम, द्वितिय र तृतिय भएका विद्यार्थी, वार्षिक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीसँगै अतिरिक्त क्रियाकलापमा अब्बल तथा विद्यालयका कार्यक्रममा भोलेन्टियर गर्ने विद्यार्थीको मनोबल बढाउनका लागि विद्यालयले विद्यार्थीलाई फिल्म देखाएको हो । 

अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्न दृष्टिकोणसँगै विद्यार्थीले सफलता प्राप्तीका लागि गर्नुपरेको संघर्षलाई चलचित्रमा चित्रण गरिएको छ । जसबाट गौतम माविका विद्यार्थी पनि प्रेरित भएको गौतम माविका सौराज प्रधानले बताए । उनकाअनुसार विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै शिक्षणप्रतिको लगाब बृद्धि गर्ने अभिप्रायले चलचित्र देखाइएको हो । 

विद्यार्थीले हेर्नै पर्ने चलचित्र भएकाले देखाइएको प्रधानको भनाई छ । गौतम माविले विद्यार्थीलाई किताबमा मात्रै सिमित राख्ने कुरामा विश्वास नगर्ने विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा बताउँछन् । उनी भन्छन्, ‘हामी विद्यार्थीको चौतर्फी विकासमा विश्वास गर्छाै । किताबी कुरा भन्दा पनि व्यवहारिक कुराबाट हामीले सिकाउने प्रयास गर्छाै ।’ 

श्रीकान्त फिल्म प्रेरणादयी भएको हुँदा विद्यालयले विद्यार्थीलाई देखाउनुपर्ने क्युएफएक्स वीरगञ्जका सञ्चालक आकृति अग्रवालले बताइन् । मंगलवार गौतम माविका विद्यार्थीले फिल्म हेरेका थिए भने बुधवार बिहान आदर्श स्कुलका विद्यार्थीले पनि हेरेको अग्रवालले जानकारी दिइन् ।

उनकाअनुसार विद्यालयले विद्यार्थीलाई देखाउँदा विशेष छुटमा चलचित्र देखाइन्छ । बिहानीको शो मा ५० प्रतिशत छुटमा देखाउनुका साथै खाजामा पनि न्यूनतम छुट दिने गरिएको उनले बताइन् । 
 

Back to top