×

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट १० लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । पर्साका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले १० लाख ३८ हजार २३८ रुपैयाँ बराबरका भन्सार छलीका सामग्री बरामद गरेको हो । 

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वाबाट अवैध सामग्री बरामद गरेको हो । भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा २ लाख १ हजार ९४५ रुपैयाँ बराबरको सामग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । 

उनकाअनुसार बरामद गरिएका अमुल चिज, बटर, मख्खन र मोटरसाइकल आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 

त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाटै खटिएको टोलीले ७ लाख ५ हजार २२३ रुपैयाँ बराबरको भन्सार छलीका औषधी बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार चेकप्वाईन्ट क्षेत्रबाटै विभिन्न किसिमका औषधी बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाटै सशस्त्र प्रहरीले घरेलु मदिरा पनि नियन्त्रण्मा लिएर नष्ट गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जकै टोलीले ३७ हजार ५ सय रुपैयाँ बराबरको १५० लिटर घरेलु मदिार नष्ट गरेको सिंहले जानकारी दिए । 

पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ हरिहरपुरबाट २३ हजार ६९० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरिएको छ । एफओबी आस्वारीबाट खटिएको टोलीले भारतबाट भन्सार छलेर मोटरसाइकलमा राखेर ल्याउँदै गरेको दाल तथा किराना सामान बरामद गरेको सिंहले बताए ।

उनकाअनुसार ७० हजार बराबरको मोटरसाइकल पनि नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 
 

Back to top