×

वीरगञ्ज । भारतको अयोध्यास्थित राम मन्दिरका मुख्य आचार्य दुर्गा प्रसाद गौतमले वीरगञ्जका धार्मिक स्थलमा दर्शन गरेका छन् । वीरगञ्ज पुगेका मुख्य आचार्य गौतमलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विभिन्न धार्मिक स्थलमा दर्शन गराएका हुन् ।

वीरगञ्जको घडिअर्वास्थित रामजानकी मन्दिरसँगै, गीता मन्दिरमा दर्शन गर्दै मुख्य आचार्य गौतमले वीरगञ्ज महानगरका प्रमुख सिंहको कार्यको सह्राना गरे । उनले भने, ‘वीरगञ्जमा भइरहेको धार्मिक स्थलको संरक्षण तथा सौन्दर्यीकरणको काम अत्यन्तै प्रशंसनीय र अद्भुत छ । मेयर सिंहको चर्चा अयोध्यासम्म पनि पुगेको छ । त्यहाँ पुग्ने दर्शानार्थीहरूले पनि यहाँका मेयर सा'बको खुबै प्रशंसा गर्नुहुन्छ ।’ 

धार्मिक स्थलको अतिक्रमण मुक्त गर्नु र संरक्षण तथा प्रवर्द्धन गर्नमा वीरगञ्ज महानगरले थालेको कदम अनुकरणीय रहेको बताउँदै आचार्य गौतमले वीरगञ्जमा धार्मिक पर्यटनको बलियो सम्भावना रहेको बताए । 

गौतमले वीरगञ्ज महानगरसँगै अयोध्याको स्थानीय तथा प्रदेश सरकारबिच आपसी समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । अयोध्या आउने दर्शनार्थीलाई वीरगञ्ज पुग्ने र यहाँका धार्मिक स्थलको  दर्शन गर्ने वातावरण निर्माण गर्नुका साथै यहाँका व्यक्तिलाई अयोध्या पुग्ने माहौल बनाउनुपर्ने उनको भनाई छ । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहले अझै धेरै काम बाँकी रहेको सुनाए । उनकाअनुसार वीरगञ्ज महानगरपालिकालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी काम भइरहेको छ ।

सो अवसरमा वीरगञ्ज महानगरपालिकाका सद्भावना दूत अशोक वैद्य, वीरगञ्ज महानगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको उपस्थिति रहेको थियो ।

Back to top