×

वीरगञ्ज । वीरगञ्जको परवानीपुरस्थित डिएभी आरबी केडिया स्कुलका विद्यार्थीले बुधवार एउटा प्रतिज्ञा गरेका छन् । स्कुलको कक्षा १०, ११ र १२ मा अध्ययनरत एक सय जना विद्यार्थीले ट्राफिक नियमको पालना गर्ने र गराउने अठोट गरेका हुन् । आफ्नो अभिभावकले हेल्मेट नलगाएमा वा मादक पदार्थ सेवन गरेमा सवारी साधनमा नचढ्ने प्रतिबद्धता पनि विद्यार्थीहरुले व्यक्त गरेका छन् । 

बुधवार विद्यालयमा जिल्ला ट्रापिक प्रहरी कार्यालय पर्सा र व्यवस्थित वीरगञ्ज अभियानले आयोजना गरेको ट्राफिक सचेतना सम्बन्धी कार्यक्रममा सहभागी विद्यार्थीहरुले सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियमको अनिवार्य पालना गर्नुपर्ने आवश्यक्ता औँल्याएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले सवारी दुर्घटना नियन्त्रणका लागि विद्यार्थी सचेत हुनुपर्नेमा जोड दिए । विद्यार्थीले आफ्ना अभिभावकसँगै आफुले चिनेका व्यक्तिहरुलाई सचेत गराउन सकेमा ट्राफिक सचेतना प्रभावकारी हुने र यसबाट सवारी दुर्घटना नियन्त्रणमा सघाउ पुग्ने उनको विश्वास छ । प्रहरी निरीक्षक खतिवडाले भने, ‘ट्राफिक प्रहरीले मात्रै चाहेर सवारी दुर्घटना नियन्त्रण हुन सक्दैन, त्यसका लागि सबैको हातेमालो हुन जरुरी छ ।’ ट्राफिक सांकेतिक चिन्हका बारेमा पनि उनले प्रकाश पारेका थिए । 

सवारी चालक मात्रै नभएर पैदल यात्रु पनि दुर्घटना पर्ने गरेको बताउँदै उनले सुरक्षित तवरले यात्रा गर्नका लागि ट्राफिक सचेतनाको आवश्यक्ता औँल्याए । हाम्रो देशमा हुने सवारी दुर्घटनाका कारण समावेश गरिएको भिडियो सामग्री पनि उनले विद्यार्थीहरुलाई देखाएका थिए । अधिकांश दुर्घटना विद्यालय तहमा अध्ययनरत विद्यार्थीबाटै हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै उनले दुई पांग्रे सवारी दुर्घटनाको दर अत्यधिक रहेको बताए । युवा वर्ग सचेत भएर ट्राफिक नियमको पालना गर्नुका साथै स्थानीय सरकारले पनि ट्राफिक व्यवस्थापनमा साथ दिएमा दुर्घटनाको दर स्वतः कम हुने उनको विश्वास छ । 

विद्यालय तहबाटै ट्राफिक सचेतनाको थालनी गरिएको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले बताए । उनकाअनुसार सामुदायिक विद्यालयमा यसअघि नै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । सोही कार्यक्रमकै निरन्तरता स्वरुप डिएभी आरबी केडिया स्कुलमा प्रशिक्षण दिइएको कार्कीको भनाई छ । उनले भने, ‘हामी आफैबाट सुधारको थालनी गर्नुपर्छ । सामान्य लापरवाहीकै कारण असामान्य दुर्घटना हुने भएकाले सावधानी अपनाउन जरुरी छ ।’  

अभियानतासमेत रहेका कार्कीकाअनुसार वीरगञ्जका सबै विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिने योजना छ । जसअनुरुप हरेक विद्यालयमा ट्राफिक सचेतना सम्बन्धी सन्देशसँगै ट्राफिक चिन्ह समावेश गरिएको बोर्ड विद्यालय परिसरमा राखिनेछ । यसबाट विद्यार्थीहरुले ट्राफिक नियमका बारेमा जानकारी पाउने उनको विश्वास छ । 

डिएभी आरबी केडिया स्कुलका प्रधानाध्यापक राकेश मिश्रले हरेक वर्ष ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सचेत बनाउँदै आएको जानकारी गराए । विद्यालय तहबाटै सचेत बनाएमा परिवर्तन सम्भव हुने मिश्रको भनाई छ । आगामी दिनमा अरु कक्षाका विद्यार्थीलाई पनि सचेत बनाउन सचेतनामुलक कार्यक्रम आयोजना गर्ने उनले बताए । 
 

Back to top