×

वीरगञ्ज । पर्सा प्रहरीले एक महिनामा भन्सार छलीको ६ करोड १३ लाख ६८ हजार ४४ रुपैयाँ बराबरको विभिन्न किसिमको लत्ताकपडा खुद्रा, किराना, औषधी तथा इलेकट्रोनिक्स सामानहरू पक्राउ गरी सम्बन्धित कार्यालयहरूमा बुझाइएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वैशाख महिना भरिमा विभिन्न स्थानहरूबाट बरामद गरेको माल बस्तुहरू सम्बन्धित कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

यसै गरी प्रहरीले वैशाख महिनामा फैसला कार्यान्वयन तर्फ १५१ जनालाई पक्राउ गरेको प्रवक्ता डिएसपी थापाले बताए । उनका अनुसार ५ वर्ष २९ दिन कैद रहेको र १५ लाख ८ हजार ७ सय ४२ रुपैयाँ जरिवाना समेत उनीहरूबाट असुल गरिएको छ ।

यसै गरी वैशाख महिनामा प्रहरीले चालु मुद्दाका फरार प्रतिवादी ११ जना पक्राउ गरेको छ । एक लाख तेइस हजार नक्कली नोट बरामद गरेको छ । ३५ लाख २० हजारसहित हुन्डी कारोबारी संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

यसै गरी पर्सा प्रहरीले ४२ वटा चोरी भएको मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको डिएसपी थापाले जानकारी दिए । 

यसै महिनामा प्रहरीले हतियार र लागूऔषधसहित आपराधिक प्रवृत्तिका बब्लु पासवान समेत पक्राउ गर्न सफल भएको छ । विशेष सूचनाको आधारमा प्रहरीले राति ११ बजेको समयको उनको खुट्टाको घुँडामुनि गोली लागी हानी पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले लागूऔषध तर्फ गाँजा १५ किलोग्राम, खैरो हिरोइन ५७.४५ ग्राम, कोरेक्स ६७ बोतल, नाइट्राभेट ७९९ पिस, फेनारगन ३० एम्पुल, डाइजेल्याब ३३ एम्पुल र नुरफिन ३३ एम्पुल बरामद गरेको छ ।

पर्सा प्रहरीको प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल आएदेखि नै शान्ति सुरक्षा कायम हुनुको साथ साथै अवैध कारोबारमा कमी आएको छ । एसपी ढुङ्गेलले आफै फिल्डमा गस्तीमा निस्कनुको साथ साथै चेकजाँचमा समेत खट्ने गरेका छन् । एसपी ढुङ्गेलले कहिले काहीँ दिउसो र रातीमा समेत एकलै सिभिल ड्रेसमा समेत गस्तीमा निस्कने गरेका कारण अवैध कारोबार गराउने प्रहरी सजग भएका छन् ।

Back to top