×

चरम आर्थिक संकटबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले रणनीतिकरूपमा महत्त्वपूर्ण संस्थाबाहेक सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा गरेका छन्।

इस्लामाबादमा मंगलबार आयोजित निजीकरण मन्त्रालय र निजीकरण आयोगसँग सम्बन्धित मामिलाको समीक्षा बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री शरिफले रणनीतिक सरकारी उद्योगबाहेक नाफा वा घाटा गर्ने अन्य सबै उद्योगलाई निजीकरण गर्ने बताए।

बैठकमा निजीकरण मन्त्रालय र निजीकरण आयोगले निजीकरण कार्यक्रम २०२४-२९ को मार्गचित्र प्रस्तुत गरेको एआरवाई न्यूजले जनाएको छ।

प्रधानमन्त्री सरिफले लगानीकर्तालाई सहजीकरण गर्ने बाहेक राज्यको व्यवसाय सञ्चालनमा कुनै सरोकार नभएको बताए। उनले राज्यको स्वामित्वमा रहेका उद्योगको निजीकरणले करदाताको पैसा बचत हुने र सरकारले जनतालाई गुणस्तरीय सेवा उपलब्ध गराउन सक्ने धारणा व्यक्त गरे।

प्रधानमन्त्री सरिफले यस सम्बन्धमा आवश्यक कदम चाल्न र निजीकरण आयोगलाई सहयोग गर्न सबै संघीय मन्त्रालयलाई निर्देशन दिए। 

उनले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स कम्पनी लिमिटेड (पीआईए) को निजीकरणलगायतका बिडिङ तथा अन्य महत्त्वपूर्ण कदमको प्रत्यक्ष प्रसारण गर्न निर्देशन दिए। 

बैठकमा पीआईएको निजीकरणका लागि पूर्वयोग्यता प्रक्रिया यसै महिनाको अन्त्यसम्ममा सम्पन्न हुने जानकारी दिइएको छ। बैठकमा विद्युत् वितरण कम्पनीको निजीकरणलाई निजीकरण कार्यक्रम २०२४–२०२९ मा समावेश गरिएको बताइएको छ।

घाटामा रहेका सरकारी उद्योगलाई प्राथमिकताका आधारमा निजीकरण गर्ने र यसको प्रक्रियालाई तीव्रता दिन निजीकरण आयोगमा पूर्व-दक्ष विज्ञको प्यानल नियुक्ति भइरहेको जानकारी बैठकमा दिइएको थियो।

बैठकको एक दिनअघि संघीय अर्थमन्त्री महम्मद औरङजेबले सबै सम्बन्धित मन्त्रालय र डिभिजनलाई आ-आफ्नो राज्यको स्वामित्वमा रहेका उद्यमको वर्गीकरणका लागि मे २० भित्र प्रस्ताव पेश गर्न निर्देशन दिएका थिए।

Back to top