×

वीरगञ्ज । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा रहेको सरकार हटाउन समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्र सहितको सम्भावना कमजोर भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमाले र माओवादी सहितको गठबन्धनमा नरहेको प्रस्ट गरेसँगै उनीहरूको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावना कमजोर भएको हो ।

जनमत पार्टीले मधेस प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बन्नु पर्ने ‘बटम लाइन’ राखेको छ । पार्टीको संसदीय दलका नेता महेश प्रसाद यादवले विगतमा भएको सहमति अनुसार पनि मधेस प्रदेशमा सरकारको नेतृत्व जनमतले गर्न पाउनु पर्ने बताए । जनता समाजवादी पार्टी (जसपा) नेपाल बाहेकको नेतृत्वमा सरकार गठनबारे चरणबद्ध रूपमा विभिन्न दलहरूसित छलफल चलिरहेको उनले बताए । ‘मधेस प्रदेशका अधिकांश सांसद र दलका नेताहरू काठमाडौँमा नै रहेकाले यहीँ छलफल हुनेछ,’ उनले भने, ‘सरकार गठनका लागि शीर्ष नेताको सुझाव समेत अनिवार्य भएकाले काठमाडौँ आइपुगेको छु ।’

लोसपा मधेस प्रदेशका अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले मधेसी दलको नेतृत्वमा नै सरकार गठनको पक्षमा आफूहरू रहेको बताएका छन् । ‘मधेस केन्द्रित दलको नेतृत्वमा प्रदेश सरकार गठन गर्न जसपा नेपालको भूमिका महत्त्वपूर्ण छ’ उनले भने-‘जसपा नेपालले उदारता देखाए मधेस प्रदेशमा मधेसवादी दलको नेतृत्वमा सरकार गठन हुने पूर्ण सम्भावना छ । नेकपा एमाले र माओवादी केन्द्र सहितको गठबन्धनमा नरहेको प्रस्ट गर्दै त्यस बाहेकको गठबन्धनको सरकारमा सहभागिता रहने छ । काँग्रेस र जनमतको नेतृत्वमा सरकार गठन भए पनि आपत्ति हुने छैन । तर अहिले सरकार सम्बन्धमा कुनै निर्णय भइसकेको छैन ।’

जेठ १३ गते पछि पार्टीले त्यस विषयमा निर्णयमा पुग्ने बताउँदै उनले मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत लिने समय ३० दिन रहेकाले त्यो भित्र नयाँ सरकार गठन हुन नसक्ने बताए । तर लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतो र प्रमुख सचेतक रानी शर्मा एमाले, माओवादी दलका नेताहरुसित निरन्तर छलफलमा रहेका छन् । नेपाली काँग्रेसले जसपा नेपाल समेतलाई समेटेर गठबन्धन सरकारको नेतृत्व गर्न प्रयासरत छ ।

दलका नेता कृष्णा यादवले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसित भेटेर सरकार बनाउन सहयोग मागेका छन् । जसपा नेपाल विभाजित नभएसम्म एमाले र माओवादीले सरकार बनाउन सहज छैन ।

एमालेको २४, माओवादीको ९ र नेकपा एसको ७ मिले पनि सरकारका लागि चाहिने ५४ सदस्य पुग्ने छैन । जनमतले मुख्यमन्त्री नपाए काँग्रेस नेतृत्वको सरकारलाई सघाउने सम्भावना बलियो छ ।

नेकपा एस हालसम्म जसपा नेपालसँगै रहेको छ । तर सुदूरपश्चिममा एमालेले एसका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय मङ्गलवार गरेको छ ।

मधेस प्रदेशमा एमाले, माओवादीलाई नसघाए समर्थन फिर्ता लिन सक्ने भएकाले एसको धारणा परिवर्तन हुन सक्ने बताइन्छ । हुनत एसले बागमती, लुम्बिनी र गण्डकीमा सरकारलाई समर्थन नगरे एमाले, माओवादी गठबन्धनको सरकार धरापमा पर्नेछ ।

जसपा नेपाललाई फुटाउने हर सम्भव प्रयासमा जसपा लागेको छ । मन्त्री बनाइएका प्रदीप यादव र रेणु यादवले जसपा नेपालको संसदीय दल फुटाउन सक्रिय छन् ।

Back to top