×

विजय थलापतिको आगामी फिल्म ‘गोट’ (द ग्रेटेस्ट अफ अल टाइम) तमिलमा सर्वाधिक बहुप्रतिक्षित फिल्म मध्ये एक हो । अभिनेताका फ्यानहरुले लामो समयदेखि यो फिल्म हलमा रिलिज हुने दिन पर्खिरहेका छन् । 

फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ । यसको ट्रेलर छिट्टै रिलिज हुने बताइएको छ । चलचित्र रिलिज नहुँदै फिल्मले व्यापार गर्न थालिसकेको छ । फिल्म निर्माताहरूले फिल्म पार्टनर फाइनल गरिरहेका छन् । हालै ‘गोट’को स्याटेलाइट पार्टनरको नाम फाइनल गरिएको थियो । मेकरहरूले स्याटेलाइट अधिकार चर्को मूल्यमा बेचेको खुलासा भएको छ ।

भारु ९३ करोडमा बेचियो स्याटेलाइट अधिकार

इन्डियाग्लिट्ज तमिलको रिपोर्ट अनुसार निर्माताहरूले राष्ट्रिय टेलिभिजन पार्टनरसँग सबै भाषाका लागि स्याटेलाइट अधिकार बेचेका छन् । विजयको आगामी फिल्मको सेटलाइट अधिकार भारु ९३ करोडमा बिक्री भएको छ । विजयको अघिल्लो फिल्म ‘लियो’ले भन्दा गोटको स्याटेलाइट अधिकार बढी मूल्यमा बिकेको छ । फिल्मले प्रि–रिलिज व्यापारमा तमिल फिल्मको रेकर्ड बनाउने देखिन्छ ।

डिजिटल राइट्स पनि ठुलो रकममा बिक्री

‘गोट’ को डिजिटल अधिकार पहिला नै उच्च मूल्यमा बेचिएको थियो । फिल्मको स्ट्रिमिङ अधिकार नेटफ्लिक्सले किनेको छ । नेटफ्लिक्सले तमिल, तेलुगु, मलयालम र कन्नड–भाषा संस्करणका लागि भारु १२५ करोड तिरेको छ । हिन्दी संस्करणको लागि अर्को २५ करोड दिइएको छ । डिजिटल र स्याटेलाइट अधिकारको रकम समावेश गर्ने हो भने अहिलेसम्म फिल्मबाट निर्माताले भारु २४३ करोड आम्दानी गरिसकेका छन् ।

विजयको दोहोरो भूमिका

वेंकट प्रभुद्वारा निर्देशित ‘गोट’ टाइम ट्राभलमा आधारित फिल्म भएको बताइएको छ । यसमा विजय दोहोरो भूमिकामा देखिनेछन् । मल्टिस्टार फिल्ममा श्रीनिधि शेट्टी, प्रभु देवा, प्रशान्त, स्नेहा, लैला, अजमल, मोहन, जयराम, वैभव र प्रेमगी अमरेन जस्ता कलाकारको अभिनय रहेको छ । फिल्ममा संगीत युवन शंकरले दिइरहेका छन् । ‘गोट’ तमिल, तेलुगु र हिन्दी भाषामा रिलिज हुँदैछ । फिल्मलाई स्याटेलाइटका लागि मलयालम र कन्नड संस्करणमा पनि डब गरिने छ ।

Back to top