×

 मधुमेह जीवनशैलीसँग सम्बन्धित रोग हो । लाखौं नेपालीहरू यो रोगबाट पीडित छन् । 

कसैको आमाबाबुलाई मधुमेह भएको छ भने तिनीहरूका छोराछोरीलाई पनि मधुमेह हुने सम्भावना उच्च हुन्छ । आजभोलिको जीवनशैली, खानपान, शारीरिक रूपमा निष्क्रिय रहने बानी, मोटोपना आदि धेरै कारणले पनि मधुमेहलाई जन्म दिइरहेको छ । 

तपाईँ दैनिक व्यायाम गर्नुहुन्छ र भोजनमा रगतमा चिनीको मात्रा नियन्त्रित राख्न सघाउने कुराहरूलाई समावेश गर्नु हुन्छ भने तपाईँ स्वस्थ रहन सक्नुहुन्छ । मधुमेहलाई नियन्त्रण गर्न सकिएन भने यसले धेरै रोगलाई जन्म दिन्छ अनि कयौँ अंगलाई क्षति पनि पुर्‍याउँछ ।  

मधुमेहका बिरामीका लागि शरीरमा चिनीको मात्रा म्यानेज गर्न सघाउने केही खानेकुराहरूः 

१. अमला– यसमा प्रचुर मात्रामा क्रोमियम पाइन्छ । यो एक खनिज हो जसले कार्बोहाइड्रेट मेटाबोलिजमलाई नियन्त्रित गर्दछ । अमलाले शरीरलाई इन्सुलिनको लागि अधिक प्रतिक्रियाशील बनाउँछ, जसले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रित रहन्छ । 

२. नीम– नीमले ग्लुकोज ट्रान्सपोर्टर ४ (जीएलयूटी४)को नियमन गर्छ र ग्लुकोसिडेज जस्ता आन्द्राको प्रमुख इन्जाइमहरूलाई अवरोध गरेर ग्लुकोजको खपत कम गराउन सक्छ । तपाईँलाई पनि मधुमेह छ भने नीमको पातलाई पानीमा उमालेर त्यसको रस पिउन सक्नुहुन्छ ।

३. जामुन– जामुन एक प्रकारको फल हो । यसमा जाम्बोलिन नामक यौगिक हुन्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्न यो निकै प्रभावकारी हुन्छ । जामुन मधुमेह रोगीका लागि निकै लाभदायक फल हो ।

४. दालचीनी– रगतमा चिनीको मात्रा घटाउन यो निकै लाभदायक मानिन्छ । यसले इन्सुलिनको प्रभावको नक्कल गर्न सक्ने धेरै अनुसन्धानले देखाएको छ । इन्सुलिन एक हार्मोन हो । यसले रगतबाट चिनी हटाउने काम गर्दछ । दालचिनीलाई चिया वा पानीमा राखेर पिउन सकिन्छ । यसलाई खानामा पनि प्रयोग गर्न सकिन्छ ।

५. करेला– रगतमा चिनीको मात्रा घटाउन करेला निकै फाइदाजनक हुन्छ । करेलामा इन्सुलिन जस्तै काम गर्ने गुणहरू हुन्छन्, जसले कोशिकाहरूमा ऊर्जाको लागि ग्लुकोज ल्याउन मद्दत गर्दछ ।

६. आलस– आलसको दानामा फाइबर, ओमेगा–३ फ्याटी एसिड र लिगनेन प्रचुर मात्रामा पाइन्छ । यसले रगतमा  चिनीको मात्रालाई नियन्त्रित गर्न र इन्सुलिन संवेदनशीलतामा सुधार ल्याउन मद्दत गर्न सक्छ ।

Back to top