×

वीरगञ्ज । पर्सा जिल्ला सुनचाँदी व्यवसायी सङ्घको कार्यकाल सकिएको दुई महिना बितिसक्यो । यसअघि दुई वर्षको कार्यकाल सकिए पनि एक वर्ष पुनः म्याथ थपेर बनाइएको तीन वर्षे कार्यकाल पनि दुई महिना अघि नै सकिएको हो । अधिवेशन नभएपछि जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा सुनचाँदी व्यवसायी सङ्घलाई अधिवेशन तथा साधारण सभा सम्पन्न गर्न परिपत्र गरेको छ । 

२० वैशाख २०८१ मा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीद्वारा हस्ताक्षरित परिपत्रमा एक महिना भित्र अनिवार्य रूपमा लेखा परीक्षण सफल गरी साधारण सभा तथा अधिवेशन गर्न आदेश दिइएको छ । 

‘नेपाल सरकार गृह मन्त्रालयको मिति २०८०/१२/१६ गतेको पत्रबाट कुनै संस्थाले कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेको वा प्रचलित कानुन विपरीत कार्य गरेको भएमा तत्काल अनुगमन गरी प्रचलित कानुन बमोजिम कारबाही गर्ने र आन्तरिक सुशासन कायम गर्ने निर्देशन प्राप्त भएको छ’, परिपत्रमा भनिएको छ । 

साथै जिल्ला प्रशासन कार्यालय पर्सामा सुनचाँदी व्यवसायी सङ्घभित्र कोटाको आधारमा सुन खरिद र बाँडफाँडमा आर्थिक अनियमितता भएको उजुरीको आधारमा परिपत्र गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले बताए । 

प्रशासनले एक महिनाभित्र अधिवेशन गर्न परिपत्र गरे पनि एक महिनाभित्र अधिवेशन गर्न असम्भव भएको सङ्घका महासचिव अनिल सर्राफले यात्रा डेलीसँगको टेलिफोन संवादमा भने, ‘हामी विधान विपरीत गएका छैनौ । विधानमा टेकेरै काम गरेका छौँ । तर सङ्घको विषयमा प्रशासनले परिपत्र गरेर एक महिनाभित्र अधिवेशन सकाउन आदेश दिनुको अर्थ बुझ्न सकिएन ।’ साथै उनले प्रशासनले तोकेको एक महिनाभित्र अधिवेशन गर्न नसकिने पनि यात्रा डेलीसँग बताए । 

सुन खरिद र वितरण गर्ने कार्य सुनचाँदी व्यवसायी सङ्घले नै गर्दै आएको छ । ३ वर्षसम्म एउटै पदाधिकारी हुनु र अधिवेशन तथा साधारण सभा नगर्नुलाई शङ्कास्पद रूपमा हेरिएको छ । हामीले यस विषयमा सङ्घका अध्यक्ष भुलन सर्राफसँग पनि बुझ्न खोजेका थियौ । सो अवसरमा अध्यक्ष सर्राफ महासचिवसँग कुरा गर्नु भन्दै पन्छिए । सङ्घका अध्यक्ष भुलन कुमार सर्राफ र महासचिव अनिल सर्राफको मिलेमतोमा तीन वर्षमा अर्बौँ रुपैयाँ बराबरको सुन खरिदमा व्यापक अनियमितता भएको स्रोतले जनाएको छ । साथै सोही अनियमितताको ढाकछोप गर्न अध्यक्ष र महासचिवले षड्यन्त्र गरी अधिवेशन र साधारण सभा गर्न ढिलाइ गरिरहेको सङ्घकै एक सदस्यले आरोप लगाए । 

Back to top