×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले गीता मन्दिरको प्राङ्गणमा अनधिकृत कब्जा गरी बनाइएका संरचनामा डोजर चलाएको छ । मन्दिरको सौन्दर्यीकरणका लागि भन्दै महानगरपालिकाले मन्दिर प्राङ्गणमा करिब डेढ दशकदेखि अनधिकृत रूपमा कब्जा गरी बनाइएका व्यापारिक सटरहरू तीन वटा डोजर लगाएर भत्काएको हो । 

शनिवार मन्दिरको मूल प्रवेशद्वारको दायाँ–बायाँ र पश्चिम तर्फका गरी ८ भन्दा बढी सटरहरू डोजर लगाएर भत्काइएको महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले बताए । यसअघि शुक्रवार मेयर राजेशमान सिंहले गीता मन्दिरमा पुगेर अनधिकृत सटरहरू खाली गर्न मन्दिर सञ्चालक समितिका अध्यक्ष मदन गुप्तालाई निर्देशन दिएका थिए । मेयर सिंहकै निर्देशनमा शनिवार तीन वटा डोजर लगाएर ती सटरहरू भत्काइएको मेयर सिंहका सचिवालय सल्लाहकार हरि पोखरेलले बताए ।

पोखरेलका अनुसार, करिब डेढ दशकदेखि गीता मन्दिरको जग्गामा अनधिकृत कब्जा गरी पक्की सटरहरू बनाएर सञ्चालक समितिले भाडामा लगाएको थियो । जसका कारण मन्दिरको स्वरूप कुरूप बनेको थियो भने सटरको भाडाको हिसाबकिताब पनि सञ्चालक समितिका अध्यक्ष गुप्ता आफैले राख्दै आएका थिए । 
एक हप्ता पहिले महानगरपालिकाले मन्दिर प्राङ्गणमा बनाइएका सटरको हिसाबकिताबको विवरण, सञ्चालक समितिको वैधानिकता लगायतका विषयमा लिखित जानकारीसहित उपस्थित हुन भन्दै सञ्चालक समितिका अध्यक्ष गुप्तालाई पत्र काटेको थियो । तर अध्यक्ष गुप्ताले सटरको भाडाका बारेमा गोलमटोल जवाफ दिएको, समिति वैधानिक भएको प्रमाण पनि पेस गर्न नसकेपछि शनिवार डोजर लगाएर पक्की सटरहरू भत्काइएको पोखरेलले बताए । 

उनले भने, ‘एक त मन्दिरको सुन्दरता नै छोपिने गरी सटरहरू बनाएर भाडा असुल्दै आएका थिए । त्यो भाडाको हिसाबकिताब महानगरले माग्दा दिन सकेनन् । अर्को कुरा सञ्चालक समिति नै अवैधानिक रहेको पाइयो । एक जना व्यक्तिले वर्षौँदेखि मन्दिरको जायजेथामा रजाइँ गरेको जनगुनासो आएको थियो ।’

मेयर सिंहले मन्दिरको जग्गामा अनधिकृत रूपमा बनाइएका सटरहरू भत्काएर मन्दिरको थप सौन्दर्यीकरण गर्न लागिएको बताए । उनले भने, ‘गीता मन्दिर मात्र होइन, महानगरमा रहेका हरेक धार्मिक स्थलमा गरिएको अनधिकृत कब्जा र अतिक्रमण महानगरले खोजेर हटाउँछ ।’

गीता मन्दिरकै छेउमा रहेको रामजानकी मन्दिरमा करिब चार दशकदेखि निजी व्यक्तिले गरेको कब्जाबाट मन्दिरलाई मुक्त गरी महानगरपालिकाले सौन्दर्यीकरण गरिसकेको छ । यस्तै आदर्शनगरको चिल्ड्रेन पार्कको जग्गामा गरिएको कब्जा पनि महानगरले हटाइसकेको छ ।

त्यस्तै गहवामाई मन्दिर, चिनी मिलको जग्गामा निर्मित करिब पाँच दशक पुरानो पशुपतिनाथ मन्दिर, घण्टाघर लगायतका सम्पदाहरूको पनि महानगरपालिकाले सौन्दर्यीकरण गरेको मेयर सिंहले बताए । ‘वैभव वीरगञ्ज’ को अभियान जारी रहेको भन्दै मेयर सिंहले भने, ‘सार्वजनिक सम्पदा र ऐतिहासिक धरोहरहरूको सौन्दर्यीकरण मेरो प्रमुख प्राथमिकतामा छ ।’

Back to top