×

वीरगञ्ज । वीरगञ्जमा पाँच हजार बढी फूलका विरुवा रोपिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका रमेश पटेलले सुरु गरेको फूलको व्यवसायीक खेतीलाई प्रोत्साहन गर्न विरुवा रोपिएको हो । 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको पहलमा वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंह, प्रस्तावित सीमा सुरक्षा बल भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालसहितको टोलीले फूलका विरुवा रोपेको हो । 

दश कठ्ठा जग्गामा गुलाब, सत्रपत्री, कामनी लगायतका प्रजातिका ५ हजार बढी विरुवा रोपिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए । देशमा रोजगार छैन भन्दै युवाहरु विदेश पलायन भइरहेको अवस्थामा पटेलले आफनै माटोमा केहि गर्छु भनेर कृषि उद्यम गरिरहेकोले उनलाई प्रोत्साहित गर्न विरुवा रोपिदिएको खेतानको भनाई छ । खेतानकाअनुसार यसअघि ६ महिना पहिले पनि पटेलले फुलको व्यवसायीक खेती सुरु गर्दा २ हजार विरुवा रोपिएको थियो । 

वीरगञ्ज महानगरका मेयर सिंहले पटेल जस्ता कृषि उद्यममा लागेका युवाहरुलाई महानगरले सक्दो सहयोग गर्ने बताए । साथै उनले महानगरले अरु युवालाई पनि प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे । व्यवसायीक योजना लिएर महानगरमा आउन पनि उनले अनुरोध गरेका छन् । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराई, वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासका कन्सुलेट जनरल देवी सहाय मीना, सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरज रिजालसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना लगायतका युवा उद्यमीहरुको उपस्थिती रहेको थियो । 
 

Back to top