×

वीरगञ्ज । तराई मधेश क्षेत्रमा पिउने पानीको समस्यालाई दीर्घाकालीन रुपमा समाधान गर्न लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश समितिले माग गरेको छ । लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै पिउने पानीको समस्या यथाशीघ्र समाधान गर्न तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएका हुन् । 

मधेश प्रदेशका प्रदेश सभा सदस्यसमेत रहेका सोनलले आगलागीका घटना बढीरहेको प्रति चिन्ता व्यक्त गर्दै अग्नि पिडितलाई राहत उपलब्ध गराउन पनि माग गरेका छन् । चुरे संरक्षण एवम् व्यवस्थापनको अभाव, चुरे क्षेत्रमा अनियन्त्रित बसोबाससँगै प्राकृतिक प्रकोपको जोखिम नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा सोनलले जोड दिएका छन् । 

वर्षायाममा बाढी पहिरो, जाडो याममा शितलहर, कुहिरो र चिसोले जनजीवनमा पर्ने प्रभावसँगै गर्मी याममा आगो, डढेलो, लु र खानेपानी अभाव जस्ता समस्या प्रति सरकार गम्भिर हुनुपर्ने आवश्यक्ता उनले विज्ञप्तीमार्फत औँल्याएका छन् । 

मधेश प्रदेशका आठवटै जिल्लाका विभिन्न स्थानमा दिनहुँ आगलागीबाट धनजनको व्यापक मात्रामा क्षती भएको हुँदा राहतसँगै आगलागी नियन्त्रणका लागि पूर्वतयारी गर्न संघीय सरकार, प्रदेश सरकार एवम् स्थानीय सरकार गम्भिर भएर लाग्न पनि आग्रह गरिएको छ । 
 

Back to top