×

वीरगञ्ज । वैशाख महिनाको सुरुवातदेखि ह्वातै बढेको गर्मी र लामो समयदेखि वर्षा नभएपछि पर्साको सदरमुकाम वीरगञ्जलगायत आसपासका क्षेत्रमा चापाकलहरू सुक्ने समस्या बल्झिएको छ ।

विशेष गरी वीरगञ्जको सहरी र धना आबादी भएको क्षेत्रमा वैशाख महिनाको पहिलो सातादेखि चापाकलहरू सुक्न सुरु भएको हो । गत वर्ष पनि गर्मी बढ्दै जाँदा पनि वर्षा नभएको कारण पर्सा जिल्लाको अधिकांश स्थानमा चापाकलहरू सुकेको थियो ।

पानीको मुख्य स्रोतका रूपमा प्रयोग हुँदै आएको चापाकलहरू नै सुक्न थालेपछि स्थानीयहरू पानीका लागि लालायित भएका छन् । वैकल्पिक व्यवस्था नहुँदा खानेदेखि अन्य प्रयोजनका लागि पानीको जोहो गर्न धेरै कठिनाइ भइरहेको वीरगञ्ज – १५ भिसुवा टोलका जयकिसन कुर्मीले बताए ।

‘खानेपानी संस्थानमा सरकारी धारा जडान गर्न निवेदन दिएको छु । तर झन्झटिलो प्रक्रियाका कारण समय लाग्दै छ,’ कुर्मीले भने, ‘त्यसको व्यवस्था नभएसम्म जसोतसो काम चलिरहेको छ ।’ 

वीरगञ्ज – ११ रानीघाटका गौरीशङ्कर तिवारीको घरमा रहेको चापाकल सुकेको पनि आज दुई साता भयो । ‘खाने पानीका लागि त अहिलेसम्म छिमेकीले जडान गरेको बोरिङबाट काम चलाइरहेका छौँ । तर शौचालय, कपडा धुन र अरू कामका लागि धेरै पिडा भइरहेको छ,’ तिवारीले यात्रा डेलीलाई भने । सरोकारवाला निकायले पूर्व तयारी नगर्दा आफू लगायत टोलका सयौँ स्थानीय समस्याबाट गुज्रिरहेको उनको भनाई छ ।

भिसुवा र रानीघाट जस्तै महानगरका अन्य वडाहरूमा पनि चापाकल सुक्ने समस्या सुरु भएको स्थानीयहरूले बताएका छन् । वीरगञ्ज महानगरले पूर्व तयारी नगरेको कारण समस्या थप विकराल बन्दै गइरहेको बताउँदै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाको खानेपानी महाशाखाका प्रमुख इन्जिनियर राकेश कुमार साहले पनि केही साता यता महानगर क्षेत्रमा चापाकलहरू सुक्न थालेको स्वीकार गरे । ‘खानेपानीको समस्यासँग महानगरवासी जुधिरहेका छन्,’ उनले भने । छिट्टै वर्षा नभएमा आगामी दिनमा पिउने पानीको समस्या झनै विकराल हुँदै जाने उनको भनाई छ ।

गत वर्ष चापाकलहरू सुकेर समस्याग्रस्त बनेका वडाहरूमा यस पटक अझ धेरै पिउने पानीको समस्या हुन सक्ने सङ्केत देखिएको साहले बताए । उनले भने, ‘अहिले तत्काल पानी पर्ने सम्भावना पनि देखिँदैन । जसका कारण भूमिगत पानीको सतह घटेर चापाकलहरू सुक्न थालेका हुन् । यस बर्ष पोहोरको भन्दा अझ पानीको समस्या विकराल बन्न सक्ने अवस्था देखिँदै छ ।’

वीरगञ्ज महानगर क्षेत्रमा यसअघि सामान्यतया पानीको सतह २७–२८ फिट भेटिने गरेकोमा अहिले ३०/३५ फिट तलसम्म पुगेको भन्दै उनले पानीको सतह अझ घट्न सक्ने सम्भावना रहेको बताए ।

चापाकलहरू सुकेर पानीको समस्या हुन थालेपछि यसबर्ष पनि महानगरपालिकाले विभिन्न वडाहरूमा डीप बोरिङ जडान गरिरहेको बताए । खाने पानीको समस्याग्रस्त वडाहरूमा डीप बोरिङ जडान भइरहेको भन्दै साहले व्यक्तिगत रूपमा डीप बोरिङ जडानको लागि स्वीकृति प्रदान गरिएको जानकारी पनि गराए । उनले भने, ‘डीप बोरिङ जडान गर्दा व्यक्ति विशेषले समस्याग्रस्त छिमेकीहरूलाई पनि पानी उपलब्ध गराउने सर्तमा डीप बोरिङ जडानको इजाजत दिने गरेका छौँ ।’

उनका अनुसार अधिकतम ३५० फिटसम्मको गहिराइमा मात्र डीप बोरिङ जडानका लागि महानगरले अनुमति दिने गरेको छ । त्यो भन्दा बढी गहिराइमा बोरिङ जडान गर्न नपाउने साहले बताए ।

वीरगञ्ज महानगर क्षेत्रमा गर्मीका बेला गत वर्षदेखि चापाकलहरू सुकेर पिउने पानीको हाहाकार नै भएको थियो । त्यसपछि महानगरपालिकाले केही वडाहरूमा डीप बोरिङ जडान गरेको थियो भने व्यक्तिगत रूपमा पनि डीप बोरिङ जडान गरिएको थियो । तर जथाभाबी डीप बोरिङ जडान गर्दा पानीको सतह झनै घट्न थालेको गुनासो आएपछि महानगरले व्यक्ति विशेषलाई डीप बोरिङ जडानमा रोक पनि लगाएको थियो ।

Back to top