×

वीरगञ्ज । चौतर्फी आलोचना भएपछि हरि खेतान बहुमुखी क्याम्पसले पत्रकार सम्मेलन गरेर गल्ती ढाकछोप गर्न खोजेको छ । आइतबार हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले मानसिक तनाव दिएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए । 

मानसिक तनाव दिएको विषयले चौतर्फी चर्चा पाएपछि अभिभावक र सरोकारवालाले परीक्षा कोठाको सिसिटिभी क्यामराको फुटेज माग गर्दा बिग्रिएको भनेर क्याम्पसका निमित्त प्रमुख किशोरी राय यादव पन्छिएका छन् । 

वीरगञ्ज महानगरपालिकाले सार्वजनिक नाला अतिक्रमण गरी बनाइएको भवन भत्काउने बेलामा सिसिटिभी क्यामराको तार चुँडिएको उनको स्पष्टोक्ति छ । यद्यपि उनको जवाफ तर्कसङ्गत देखिँदैन । किनभने सो अवसरमा भवनमाथि डोजर चलाउँदा बाहिर कुनै सिसिटिभी क्यामराको तार देखिएको थिएन । क्याम्पस प्रवेशद्वारमा जडित सिसिटिभी क्यामराले काम गर्ने तर कक्षाकोठाको बिग्रिनु आफैमा शङ्कास्पद छ । अहिले पनि क्याम्पस प्रवेशद्वारमा लगाइएको सिसिटिभी क्यामराले भने काम गरिरहेको छ । 

क्याम्पसमै सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै निमित्त प्रमुख किशोरी राय यादवले विद्यार्थीले लगाएको आरोप निराधार रहेको बताए । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले परीक्षामा मानसिक यातना र तनाव दिएको भन्दै क्याम्पसमा गरेको तोडफोडप्रति उनले आपत्ति समेत जनाए ।

साथै उनले परीक्षामा हरि खेतानका कोही पनि शिक्षक वा कर्मचारीले विद्यार्थीलाई तनाव नदिएको दाबी गरे । तर उनको दाबीलाई परीक्षार्थी र अभिभावकहरूले खण्डन गरेका छन् । परीक्षामा सहभागी मोहम्मद साहिल अन्सारीले परीक्षाको समयमा मानसिक तनाव दिएको सञ्चार माध्यममै बताएर हरि खेतान क्याम्पसलाई चुनौती दिएका हुन् । साहिलका अनुसार परीक्षा दिइरहेको समयमा कक्षाकोठामा खटिएका पर्यवेक्षकहरूले अनावश्यक विषयलाई उठाएर आफूलगायत विद्यार्थीलाई हैरान गरेका थिए ।

‘शुक्रवारका दिन भएको पहिलो परीक्षामा पर्यवेक्षकहरूले देखाएको व्यवहार बारे हामीले कलेज र आफ्ना अभिभावकलाई जानकारी गराएका थियौँ । उहाँहरूले आइतबारदेखिको परीक्षामा सुधार हुन्छ भनेर आश्वासन दिनुभयो,’ साहिलले यात्रा डेलीलाई भने, ‘तर आइतबार पनि हरि खेतान क्याम्पस र त्यहाँ खट्ने पर्यवेक्षकहरूको व्यवहारमा कुनै परिवर्तन नआएपछि बाध्य भएर हामीले विरोध गरेका हौँ ।’

नेशनल इन्फोटेक कलेजका निर्देशक इन्जिनियर मनिष सिंहले पनि हरि खेतानले विद्यार्थीहरूसँग अमानवीय व्यवहार गरेको बताए । परीक्षा कोठामा पर्यवेक्षक बाहेक अन्य कोहीलाई प्रवेश गर्न अनुमति नरहे पनि हरि खेतानमा एकै पटक गुण्डागर्दी शैलीमा ६/६ जना प्रवेश गरेर विद्यार्थीहरूलाई अनावश्यक दुःख दिएका थिए । हरि खेतानका निमित्त प्रमुख किशोरी राय यादवले आफूमाथि लगाएको आरोपहरू निराधार रहेको बताउँदै उनले प्रमाणित गर्न चुनौती पनि दिए । उनले भने, ‘हरि खेतनाका प्रमुखले आइतबारको घटनामा हाम्रो संस्थाका कर्मचारी र शिक्षकहरूको संलग्नता प्रमाणित गरे त्यहाँ भएको सम्पूर्ण नोक्सानीको म क्षतिपूर्ति बेहोर्ने तयार छु ।’

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार हरि खेतान बहुमुखी क्याम्पसबाट नेशनल इन्फोटेक कलेजको परीक्षा केन्द्र स्थानान्तरण गरिएको छ । परीक्षा केन्द्रमा विद्यार्थीहरूलाई मानसिक यातना दिएको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालयले केन्द्र स्थानान्तरण गरेको बुझिएको छ । वीरगञ्ज – ९ गोश्वारा रोडस्थित स्थित श्री नेपाल रेल्वे माध्यमिक स्कूल र वीरगञ्ज – १० अशोकवाटिकास्थित श्री पानालाल माध्यमिक स्कुललाई नयाँ परीक्षा केन्द्र तोकिएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।

हरि खेतान क्याम्पसले यसअघि पनि परीक्षा दिन आएका विद्यार्थीहरूलाई अनावश्यक यातना दिएको घटनाहरू छन् । केही वर्ष अगाडि मात्र नेशनल एकेडेमीका विद्यार्थीहरूले पनि हरि खेतान क्याम्पसमा परीक्षा दिने क्रममा दुःख पाएको भन्दै विरोध जनाएका थिए ।

Back to top