×

गत वर्ष पानीको हाहाकार भएपछि वडा कार्यालयले व्यवस्था गरेको धाराबाट पानी जम्मा गर्दै वीरगञ्जस्थित घडिअर्वा टोलकी महिला । तस्बिर : आशुकुमार सर्राफ/यात्रा डेली ।

वीरगञ्ज । केही दिन यता वीरगञ्जसहित आसपासका क्षेत्रको जनजीवन गर्मीले प्रभावित भएको छ । तापक्रम बढ्नुका साथै तातो हावा (लू) चलेसँगै यहाँको दैनिकी थप कष्टकर बन्दै गएको हो । 

गर्मीका कारण स्थानीयहरूले दिउँसो बाहिर निस्किन समेत कम गरेका छन् । चिकित्सकले समेत तातो हावाबाट आफू र आफ्नो परिवारका सदस्यहरूलाई जोगाउन आग्रह गरिरहेका छन् । अर्को तर्फ गर्मी बढ्दै गएपछि वीरगञ्जलगायत आसपासका क्षेत्रमा गत वर्ष जस्तै खानेलगायत अन्य प्रायोजनका लागि प्रयोग हुने मुख्य पानीको स्रोत चापाकल सुक्ने क्रम पनि सुरु भएको छ ।

गत वर्ष पनि अत्यधिक तापक्रमका कारण वीरगञ्ज लगायतका तराई मधेसका अधिकांश जिल्लामा पानीको हाहाकार नै मच्चिएको थियो । यस वर्ष पनि केही दिनमै खानेपानीको हाहाकार हुन सक्ने सङ्केत देखिन थालेकोमा स्थानीय चिन्तित छन् । ठाउँ-ठाउँमा चापाकलहरू सुक्न समेत थालेका छन् ।

वीरगञ्ज महानगरपालिका – १३ राधेमाई निवासी दीपेन्द्र पटेल भन्छन्, ‘गत वर्ष एकदम धेरै गाह्रो भएको थियो, यस वर्ष त्यो भन्दा झनै गाह्रो हुने सङ्केत देखिएको छ । तर स्थानीय सरकारले यसतर्फ ध्यान दिएको पाइँदैन ।’ उनकाअनुसार पछि पानीका धारा सुकेर गाह्रो हुनुभन्दा पहिला नै सरोकारवालाले पूर्व तयारी गर्न आवश्यक छ ।

वीरगञ्ज – ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ता वडाको २ ठाउँमा डीप बोरिङ जडान गरिएको बताउँछन् । उनले यात्रा डेलीसँगको संवादमा भने, ‘हामीले गर्मीमा चापाकल सुक्ने सम्भावनालाई मध्यनजर गर्दै डीप बोरिङ जडान गरेका छौँ । त्यसबाट पाइप लगाएर वडावासीलाई पानी पिलाउने गरी काम भइरहेको छ ।’ 

यद्यपि वीरगञ्जको रानीघाट र पानमण्डीमा डीप बोरिङ जडान गरिएको दुई साता बित्दा पनि पानी भने अझै आउन नसकेको वडावासीहरूले गुनासो गरेका छन् । वडाध्यक्ष गुप्ताकाअनुसार मोटर जलेका कारण पानी आउन नसकेको हो । नयाँ मोटर फेर्ने कार्य भइरहेको हुँदा छिटै पानी आउने वडाध्यक्ष गुप्ताको भनाई छ ।

राधेमाई, रानीघाट र पानमण्डी जस्तै वीरगञ्जका धेरै स्थानमा पानीको समस्या बल्झिएको छ । बढ्दो गर्मी, तातो हावा र लामो समयदेखि वर्षा नभएपछि भूमिगत पानीको तह तल खस्किँदा चापाकल सुक्ने समस्या आएको मौसमविद्हरूको भनाई छ । गत वर्षदेखि वीरगञ्जसहित तराई मधेसका अधिकांश जिल्लामा पानीको समस्या आए पनि स्थानीय तहहरूले पूर्व तयारी गरेको देखिँदैन । 

गत वर्ष पानीको समस्या सुरु भएपछि यसलाई आफ्नो लोकप्रियताको माध्यम बनाउन स्थानीय समाजसेवीदेखि राजनीतिज्ञसमेतले ट्याङ्करमार्फत पानी वितरण गरेका थिए । कतिपयले पानीको समस्यालाई राजनीतिक एजेन्डा नै बनाएर निकै चर्चा समेत बटुले । तर, अहिले आएर पूर्व तयारीका लागि कुनै पनि निकायले काम अगाडि बढाएको छैन । 

‘समस्या सुरु भएपछि ट्याङ्करले पानी बाँड्नु भन्दा गर्मी सुरु हुनु अगाडि नै यसको समाधान तर्फ लागेको भए अहिले आएर पानीको हाहाकारको अवस्था सृजना हुन्थेन,’ वीरगञ्ज – ११ का स्थानीय हिरालाल ठाकुरले भने, ‘तर महानगरले त्यस्तो तयारी गरेको देखिँदैन ।’

Back to top