×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । बारा जिल्लामा कार्यरत एक प्रहरीले बोकेको अटोमेटिक पेस्तोल हराएको छ । प्रहरीका वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक (डिएसपी) तथा प्रवक्ता दधिराम न्यौपानेले पेस्तोल हराएको पुष्टि गरे । ‘हिजो राति अपरेसनमा जाँदा हराएको हो, खोजी भइरहेको छ,’ डिएसपी न्यौपानेले भने ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ सई बिसीसहितको टोली सोमबार राति लागूऔषधको अपरेसनमा गएको थियो । अप्रेसनका क्रममा लागूऔषध गाँजासहित केही व्यक्ति समेत पक्राउ परेका थिए । अपरेसनकै क्रममा पेस्तोल हराएको डिएसपी न्यौपानेको भनाइ छ ।

वरिष्ठ सई बिसीले बोकेको १० राउन्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो । घटनाबारे बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Back to top