×

वीरगञ्ज । पेट्रोलियम क्षेत्रमा कार्यरत दुई संस्थाले संयुक्त रूपमा नेपाल आयल निगमविरुद्ध आन्दोलन गर्ने तयारी गरेका छन् ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र पेट्रोलियम ट्याङ्कर ढुवानी व्यवसायी महासङ्घले संयुक्त बैठक बसेर निगमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् । दुवै संस्थाले निगमले आफूहरूको माग पूरा नगरे आन्दोलनमा जाने निर्णय गरेका छन् ।

निगमले सम्झौता गरेर पनि उक्त सम्झौतालाई कार्यान्वयनमा नल्याएको भन्दै उनीहरूले आन्दोलन गर्ने तयारीमा जुटेका छन् । केही वर्षअघि पेट्रोल पम्प व्यवसायीको कमिसन पुरानै व्यवस्थाअनुसार उपलब्ध गराउने विषयमा निगमले सम्झौता गरेको थियो । तर निगमले उक्त सम्झौता हालसम्म कार्यान्वयनमा नल्याएको महासङ्घका एक अधिकारीले बताए ।

निगमले पाँच वर्षअघि पेट्रोल पम्प नियमन गर्न साधारण बिक्रेता विनियावली २०७५ जारी गरेको थियो । उक्त विनियावलीले पेट्रोलमा ३.३९५ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत प्रतिलिटर कमिसन उपलब्ध गराउने व्यवस्था गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुँदा निगमले पनि त्यो वेला नोक्सानी व्यहोरेको थियो । निगमले घाटा बेहोर्दै गर्दा पम्प सञ्चालकले भने भने प्रतिलिटर ६ रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका थिए । तत्कालीन समयमा निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पम्प सञ्चालकले पाउँदै आएको उक्त कमिसन दर कटौती गर्ने निर्णय गरेका थिए ।

निर्णयपछि पम्प सञ्चालकले पेट्रोलमा २.८७ प्रतिशत र डिजेलमा २.३९ प्रतिशतका दरले मात्रै कमिसन पाउन थालेका थिए । निगमको घाटा कम हुनासाथ विनियमावलीले तोके अनुसारको कमिसन दर लागू गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयनमा नआएको भन्दै व्यवसायी आन्दोलित हुन लागेका हुन् ।

Back to top