×

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले वीरगञ्जका लागि आगामी बजेटमा विशेष प्याकेज समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमै प्रधानमन्त्री प्रचण्डलाई भेटेर सांसद यादवले वीरगञ्जसहित आफ्नो निर्वाचन क्षेत्रका लागि विशेष प्याकेज सङ्घीय सरकारको आगामी बजेटमा समावेश गर्न माग गरेका हुन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सङ्घीय सांसदसमेत रहेका यादवले विकास निर्माण, स्वास्थ्य,शिक्षा, खानेपानी, पर्यटन,कृषि,खेलकुद लगायतका विभिन्न योजना र त्यसमा लाग्ने रकमको सूची नै बनाएर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा आगामी वर्षको बजेटमा नारायणी रङ्गशालाको मर्मत सम्भार र स्तरोन्नति, नारायणी अस्पतालको भवन निर्माण र स्तरोन्नति, घडीअर्वा पोखरी पार्कको स्तरोन्नति, ठाकुरराम बहुमुखी क्याम्पसको भवन मर्मत सम्भार र रंगरोगन तथा छात्रावास निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गरेका छन् ।

त्यस्तै यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा निर्माण गर्न लागिएको पर्सा प्राणी उद्यान (चिडिया खाना)को निर्माणका लागि १० करोड रुपैयाँ तथा वीरगञ्ज–१५ मा डिपिआर बनिसकेको लक्ष्मणवा पार्क निर्माणका लागि ७ करोड रुपैयाँ पनि नयाँ बजेटमा व्यवस्थापन गर्न माग गरेका छन् ।

यसै गरी निर्वाचन क्षेत्र १ मा पर्ने विभिन्न वडामा कालोपत्रे सडक निर्माण, विभिन्न चार वटा खोलामा पुल निर्माण, महानगरका विभिन्न १८ वटा वडामा खाने पानीका लागि डिप बोरिङ जडान, सिर्सिया नदी र भेडाहा खोलामा तटबन्ध निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा समावेश गर्न सांसद यादवले प्रधानमन्त्री प्रचण्डसँग माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले देशकै प्रमुख आर्थिक नागरी वीरगन्जसहित त्यस क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएको सांसद यादवले जानकारी दिए ।

Back to top