×

वीरगञ्ज । भारतबाट सल्किएको आगोले पर्सामा १२ लाख ८४ हजार बढीको क्षती भएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ भलमहियामा आगलागीबाट घर, गोठ तथा अन्नबाली जलेर नष्ट भएको छ । 

भारतबाट गहुँको खेतमा लागेको आगो फैलिएर नेपालतर्फ आई भलमहिया बस्तिमा सल्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । उनकाअनुसार आगलागीबाट भलमहिया बस्ने ४६ वर्षीय किसुनदेव हजराको फुसको घर, २० क्विन्टल गहुँ, लत्ताकपडा तथा भाँडावर्तन गरी २ लाख ८० हजार बराबरको क्षती भएको छ । सोही ठाउँका ४० वर्षीय चेतमन राउत अहिरको ६ कठ्ठा गहुँ जलेको छ । जसबाट ३२ हजार बराबरको क्षती भएको छ । 

राजु यादवको ३३ कठ्ठामा रहेको गहुँ र पराल जल्दा १ लाख बराबरको क्षती भएको छ । उपेन्द्र यादवको ४२ हजार बराबरको ८ कठ्ठा गहुँ, हाकिम यादवको पनि ८ कठ्ठा गहुँ, ताराचन्द साह तेलीको १ लाख २० हजार बराबरको ३० कठ्ठा गहुँ र पराल, भिखरी राउत अहिरको ३० हजार बराबरको पराल आगलागीबाट जलेको छ । मलबोद यादवले सञ्चालन गरेको ओम पाथिभारा पशुपक्षी फर्म पनि आगलागीबाट जलेको छ । जसबाट २५ क्विन्टल दाना, ३५ वटा कुखुरा र फुसको घर गरी ४ लाख बराबरको क्षती भएको डिएसपी थापाले जानकारी दिए । 

बिरेन्द्र यादवको फुसको गोठ, १० क्विन्टल गहुँ र भुस गरी ८० हजार बराबरको क्षती हुँदा साहेब राउत अहिरको २० हजार बराबरको पराल, जुगुल यादवको २० हजार बराबरको पराल, बिश्वनाथ यादवको ८ हजार बराबरको पराल पनि आगलागीमै परेर नष्ट भएको छ । डिएसपी थापाकाअनुसार मुनिल यादवको ५० हजार मूल्य बराबरको १० कठ्ठा गहुँ, अर्जुन यादवको पनि ५० हजार बराबरकै १० कठ्ठा गहुँ र किशुनदेव यादवको २० हजार बराबरको ३ कठ्ठा गहुँ जलेको छ । 

शनिवार अपरान्ह ३ बजेतिर लागेको आगो साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको डिएसपी थापाले यात्रा डेलीसँग बताए । उनकाअनुसार आगोलाई नियन्त्रणमा लिनका लागि ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षकसहित ७ जनाको टोली र प्रहरी चौकी मिर्जापुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ७ जनाको टोली घटनास्थलमा परिचालित थियो । वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरिया नगरपालिकाको दमकल, बिपद व्यवस्थापन गुल्म पर्साको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता डिएसपी थापाले जानकारी दिए । 
 

Back to top