×

वीरगञ्ज । बाराको मानवत मटिअर्वा सडक खण्डअन्तर्गत कलैयास्थित अधुरो बाटो निर्माण गराउनेतर्फ सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले चासो देखाएको छ । उक्त सडक खण्डको समितिका सदस्यहरूले बिहीबार स्थलगत निरीक्षण गरेका छन् ।

समितिका सदस्य सांसद अमरेशकुमार सिंहले अधुरो रहेको सडक निर्माण छिटो गर्न ठेकेदारलाई निर्देशन दिए । उक्त सडक खण्डअन्तर्गत अन्य स्थानको सडक बने पनि कलैयादेखि अवधापुरसम्मको तीन किलोमिटर बाटो बनाएर अलपत्र छाडिएको छ । सडक नबन्दा स्थानीयले सास्ती खेप्दै आएका छन् ।

धुँवाधुलो हिँडडुल गर्न पनि समस्या भएपछि स्थानीयले पटक(पटक चक्काजामसमेत गरेका थिए । तर पनि हालसम्म उक्त सडक निर्माण हुन सकेको छैन ।

यस्तै, पर्साको ठोरी गाउँपालिकास्थित अधुरो हुलाकी सडक निर्माणका सम्बन्धमा पनि सार्वजनिक लेखा समितिले चासो देखाएको छ । साबिकको ठोरी गाविसमा अधुरो रहेको करिब ५ किलोमिटर सडकको स्थलगत निरीक्षण गर्दै समितिका सदस्यहरूले सडकको अवस्थाका बारेमा चासो देखाएका हुन् ।

स्थलगत निरीक्षण गर्न पुगेका सार्वजनिक लेखा समितिका सदस्य पूर्व वन मन्त्री प्रदीप यादवसहित सदस्यहरू रामकृष्ण यादव, अमरेश कुमार सिंह, वेदप्रसाद तिम्सिना, प्रभु हजरालगायतले सडक निर्माणको अवस्था, समस्यालगायतका विषयमा स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

Back to top