×

तस्बिर : क्यान (क्रिकेट एशोसिएशन अफ नेपाल)

वीरगञ्ज । एसीसी मेन्स प्रिमियर कप २०२४ को सेमीफाइनल खेलमा नेपाल युएईसँग पराजित भएको छ । ओमनको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

फाइनल पुग्न असफल भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना भने सकिएको छ । नेपालले अब शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो हुने टोली फाइनल खेल्ने टोलीसँगै एमर्जीङ कपका लागि छनोट हुनेछन् । यता यूएई भने आइतबार हुने फाइनलमा ओमान र हङकङको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज हुँदैछ ।

त्यसअघि नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । नेपालका लागि सन्दीप जोराले ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए ।

इनिङको पहिलो बलमा नै कुशल भुर्तेल कट बिहाइन्ड भएपछि नेपाल दबाबमा परेको थियो । जुनेद सिद्दिकी र ओमिद रहमानले उत्कृष्ट बलिङ गर्दै नेपाललाई पावरप्लेमा चल्न दिएनन् । ओमिदले आसिफ शेखलाई एलबीडब्लु धरापमा पार्दा नेपाल ११–२ को अवस्थामा पुग्यो । कप्तान रोहित पौडेल विकेट जोगाउने धुनमा रक्षात्मक हुँदा १८ बलमा ५ रन जोड्दै कट बिहाइन्ड भए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले इनिङ सम्हालेर रन जोड्दा अर्कोतर्फ भने निरन्तर विकेट पतन जारी रह्यो । कुशल मल्ल ३ रनमा बसिल हमिदबाट बोल्ड भए । दीपेन्द्र सिंह ऐरी पनि ५ रनमा आयान खानको एलबीडब्लू धरापमा परे ।

त्यसपछि सन्दीप जोरा लेग स्पिनर मोहमद फारुकको बलमा क्याच आउट भए । ५० रन जोडेका उनी आउट हुँदा नेपाल ८०–६ को स्थितिमा पुगेको थियो । सोमपाल कामी पनि २ रन जोड्दै बसिलको बलमा क्याचआउट भए ।

तल्लोक्रममा गुलशन झा र करण केसीले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याए । करण ११ बलमा २ छक्कासहित १७ रनमा बोल्ड भए । गुलशनले अन्तिम ओभरमा आउट हुनुअघि १५ बलमा १ चौका र १ छक्कासहित २० रन जोडे ।
 

Back to top