×

वीरगञ्ज । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । 

नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाललाई त्यस हारको समेत बदला लिने दाउमा छ ।

नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्र महत्वपूर्ण हुनेछ । कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्र राम्रो लयमा पनि छन् । युएईविरुद्ध गुलशन झाको इतिहास राम्रो छ ।

नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ ।
आज वर्षाले खेलमा असर नपार्ने देखिन्छ । प्रतियोगिता विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । दोस्रो सेमिफाइनल खेलमा आज हङकङ र ओमानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ । तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ ।
 

Back to top