×

वीरगञ्ज । नेपाल राष्ट्र बैङ्क लिमिटेडको ६९ औँ वार्षिक उत्सवको अवसरमा वीरगञ्ज सोमबारबाट टी–१० क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ । नेपाल राष्ट्र बैङ्क वीरगञ्ज कार्यालयको आयोजनामा टी–१० क्रिकेट लिग प्रतियोगिता सुरु भएको हो ।

वीरगञ्जको आदर्शनगर खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा वीरगञ्ज महानगरपालिका कार्यालयले नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्जलाई १२ रनले हराएको हो । ८९ रनको लक्ष्य पाएको एनवाइईएफ वीरगञ्जले १० ओभरमा ४ विकेटको क्षतिमा ७६ रन मात्र बनाएपछि वीरगञ्ज महानगरपालिकाले १२ रनले जितेको हो ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको वीरगञ्ज महानगरपालिकाले १० ओभरमा ६ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । सोमबारको खेलमा प्लेयर अफ दी म्याच वीरगञ्ज महानगरपालिकाका खेलाडी वडा सदस्य दीपेन्द्र राउत घोषित भए । उनलाई नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. उदयनारायण सिंह र सिद्धार्थ बैङ्कका प्रदेश प्रमुख सुदीप ताम्राकारले पुरस्कार वितरण गरेका थिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुले गराएको बलमा ब्याटीङ गरेर नेपाल राष्ट्र बैङ्क लिमिटेड वीरगञ्ज कार्यालयका निर्देशक सरण कुमार अधिकारीले टी – १० क्रिकेट लिग प्रतियोगिताको उद्घाटन गरेका थिए । मङ्गलवार आज दोस्रो दिन पहिलो खेलमा वीरगञ्ज बैङ्कर्स ग्रुप र नेपाल राष्ट्र बैङ्क भिड्ने नेपाल राष्ट्र बैङ्क वीरगञ्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।

यस्तै आज नै हुने दोस्रो खेलमा नेपाल पत्रकार महासङ्घ पर्सा र नेपाल मेडिकल एसोसिएसन पर्सा भिड्ने सहायक निर्देशक सरार्फले बताए । वैशाख ५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैङ्क, नेपाल पत्रकार महासङ्घ पर्सा, वीरगञ्ज बैङ्कर्स ग्रुप, नेपाल मेडिकल एसोसिएसन पर्सा, वीरगञ्ज महानगरपालिका कार्यालय र एनवाइईएफ वीरगञ्ज सहभागी हुने उनले बताए ।

Back to top