×

वीरगञ्ज । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङलाई पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

अल अमेरत मैदानमा जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा १३ औं ओभरमा लक्ष्य पूरा भेटायो । सुरुवाती जोडीले आक्रामक सुरुवात दिलाएपछि नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्न सफल भएको हो ।

यस जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । हङकङ भने ३ खेलमा २ अंकका साथ प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७० रनको आक्रामक साझेदारी गरे । कुशलले छैटौं ओभरको तेस्रो बलमा एलबीडब्लु आउट हुनुअघि १९ बलमा ३२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

आसिफ पनि अर्को ओभरमा पेभेलियन फर्किए । उनले १८ बलमा समान ३–३ चौका र छक्कासहित ४० रनको योगदान दिए । कप्तान रोहित पौडेल २५ रन र सन्दीप जोरा १९ रनमा नटआउट रहे । हङकङका यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गरेको थियो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमै समेटियो । 

नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।
आज समूह बी अन्तर्गत खेलमा ओमान र यूएई तथा कुवेत र बहराइन भिड्दैछन् ।
 

Back to top