×

वीरगञ्ज । वीरगञ्जमा आयोजित ३ दिने रात्री बजार आज समापन हुँदैछ । वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा २९ चैतदेखि आयोजित रात्री बजार आज समापन हुन लागेको हो । 

वीरगञ्ज महानगरपालिकाले ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, वीरगञ्ज साइक्लिंग क्लब, नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज, फोरजी आर लगायतका संघसंस्थासँग हातेमालो गर्दै रात्री बजारको आयोजना गरेको हो । 

रात्री बजारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल पनि पुगेका थिए । रात्री बजारमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको एसपी ढुंगेलले बताए । उनकाअनुसार रात्री बजारलाई सभ्य र शान्त रुपमा सम्पन्न गर्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीसँगै वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी तथा सशस्त्र प्रहरी पनि रात्री बजारमा परिचालीत छन् । 

गत वर्षदेखि महानगरपालिकाले हरेक महिनाको अन्तिम शुक्रवार र शनिवार रात्री बजार सञ्चालन गर्ने योजना बनाएको थियो । सोही योजनालाई निरन्तरता दिँदै महानगरपालिकाले नयाँ वर्षलाई मध्यनजर गरेर रात्री बजारको आयोजना गरेको महानगर प्रमुख राजेशमान सिंहले बताए ।

नयाँ वर्षमा घुम्नका लागि वीरगञ्ज बाहिर नगएर वीरगञ्जमै रमाउने वातावरणको सृजना गरिएको प्रमुख सिंहको भनाई छ । प्रमुख सिंहकाअनुसार व्यापार व्यवसायमा बृद्धि गरी आर्थिक गतिविधि बढाउने अभिप्रायले रात्री बजारको अवधारणा ल्याइएको हो । 
 

Back to top