×

वीरगञ्ज । दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतार विरुद्ध विशाल योगफल खडा गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन जोडेको हो ।

नेपालका लागि दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का सहित २१ बलमा ६४ रन बनाए । उनले कुल ३ चौका र ७ छक्का प्रहार गरे । २०औं ओभरमा दीपेन्द्रले कम्रान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन् । यस्तै ओपनर आशिफ शेखले ४१ बलमा ६ चौका सहित ५२ रन बनाए ।

ओपनर कुशल भुर्तेलले आज पनि लामो इनिङ खेल्न सकेनन् । तेस्रो ओभरको पाँचौं बलमा उनी १२ रन बनाएर अमिर फरूकको बलमा क्याच आउट भए । कप्तान रोहित पौडेलले भने मध्यम सुरुवात पाएका थिए । तर १८ रनमा रहेको अवस्थामा उनलाई हिमांशु राथोडले क्याच आउट गराए ।

कुशल मल्लले भने विष्फोटक सुरुवात गरेका थिए । १८ बलमा २ चौका र ३ छक्का सहित ३५ रन बनाएर कुशल मल्ल मुसावर शाहको बलमा मोहम्मद इर्सादद्वारा क्याच आउट हुन पुगे ।

सुरुवाती समयमा तीन जीवनदान पाएका आशिफ शेख आउट हुने चौथो ब्याटर थिए । कतारले उनको क्याच दुई पटक छोडेको थियो भने उनी एक पटक क्याच आउट हुँदा थर्ड अम्पाएरले नोबल दिएका थिए ।

सन्दिप जोरालाई पनि मुसावरले ७ रनमा क्याच आउट गराए । मलेसिया विरुद्ध अन्त्यमा जित दिलाएका गुलशन झालाई हिमांशुले ५ रनमा रहेको अवस्थामा बोल्ड आउट गरे ।

आज टोलीमा आएका विवेक यादव पनि ५ रनमा मुसावरको बलमा आउट भए । सोमपाल कामी शून्यमा नटआउट रहे ।

कतारका लागि हिमांशु राथोड र मुसावर शाहले ३–३ विकेट लिए भने आमिर फरूकले १ विकेट लिए ।
 

Back to top