×

वीरगञ्ज । मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्बको दोश्रो दिन शनिबार खरना विधी मनाईदैछ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिकासाथ मनाइने चैती छठ पर्ब शुक्रबार देखि सुरु भएको थियो । पर्बको पहिलो दिन शुक्रबार ब्रतालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्ब प्रारम्भ गरेका थिए ।

दोश्रो दिन शनिबार दिनभर उपवास बसेर साँझ ब्रतालुले नुहाएर चोखो भई माटोको चुल्होमा सख्खर र चामलको खीरका साथै रोटी पकाउँछन् । उक्त खीरलाई रसियाव भनिन्छ । उक्त खीर र रोटी ब्रतालुले छठी माताको नाममा प्रसादका रुपमा चढाएर आँफै ग्रहण गर्छन् । उक्त विधीलाई खरना भनिन्छ ।

तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ पवित्र जलाशयको घाटमा गएर ब्रतालुले पानीमा उभिएर छठ माता र सूर्य भगवानलाई अर्घ दिन्छन् ।जसलाई ‘सँझिया घाटको अरघ’ भनिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ दिएर पर्ब सम्पन्न गरिन्छ । यो विधिलाई ‘भोरघाटको अरघ ’ र ‘पारन’ पनि भनिन्छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्ब हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्ब सम्पन्न गरिन्छ । मधेसमा छठ जनजन परिचालन हुने महापर्ब मानिन्छ । यद्यपि कातिकको छठ जति चैती छठ पर्ब मनाउने भने देखिँदैनन् ।

छठ पर्बमा ठेकुवा, केरा, उखु, सुन्तला,निमुवा, बोडी, सुथनी, मुला लगायतका फलफूल र हरयो तरकारी व्रतालुले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्ब हो । यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ।

 

Back to top