×

वीरगञ्ज । आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षामा ७४.३८ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । वीरगञ्ज महानगरपालिकाले परीक्षाको नतिजा सार्वजनिक गर्दै सामुदायिक तथा संस्थागत विद्यालयका ४ हजार १४४ जना विद्यार्थी उतिर्ण भएको जानकारी दिएको हो । 

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अर्विन्दलाल कर्णकाअनुसार गत चैत १५ देखि २२ गतेसम्म संचालन भएको महानगरस्तरीय परिक्षामा ५ हजार ५७१ जना विद्यार्थी सामेल भएका थिए । 

कक्षा ८ को महानगरस्तरीय परिक्षाका लागि विभिन्न ११ वटा परीक्षा केन्द्रबाट परीक्षा लिइएको थियो । आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले वीरगञ्ज महानगरले पहिलो पटक एकिकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परिक्षा लिएको कर्णले बताए ।

परीक्षाले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सिकाई उपलब्धी मापन गर्न सहज भएको महाशाखा प्रमुख कर्णको भनाई छ । प्रकाशित नतिजा महानगरको वेबसाइट र सामाजिक सञ्जाल फेसबुकमा महानगरको शिक्षा महाशाखाको आधिकारिक पेजबाट हेर्न सकिने पनि उनले बताए ।
 

Back to top