×

वीरगञ्ज । वीरगञ्जमा अस्पतालजन्य फोहोर व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण सम्पन्न भएको छ ।  स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको समन्वयमा एसियाली विकास बैंकको सहकार्य र वाटर एसिया इन्टरनेशनल प्रा.लि. को प्राविधिक सहयोगमा अभिमुखीकरण सम्पन्न भएको हो । 

वीरगञ्जको आदर्शनगरस्थित होटल पुजनमा स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अस्पतालजन्य फोहोरको व्यवस्थापनमा संवेदनशिल हुनुपर्ने आवश्यक्ता औँल्याए । वीरगञ्जको नारायणी अस्पतालको सरसफाईको जिम्मा महानगरपालिकाले लिएको बताउँदै उनले सबै निजी अस्पतालले सरसफाईमा कुनै सम्झौना नगर्न पनि आग्रह गरे । 

वीरगञ्ज महानगरको स्वास्थ्य शाखाको समन्वयमा भएको छलफलका क्रममा अस्पतालको स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन बारे चर्चा भएको थियो । विभागले सरकारी संस्थालाई तीनदिने आधारभूत तालिम तथा निजी अस्पताललाई एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराई, डा. अंजना शाक्य, सुरेन्द्र भट्टराई, धिरेन्द्र मैनाली, नारायणी अस्पतालकी मेट्रोन श्रुती साह, वीरगञ्ज महानगरबाट राकेश साह, वन तथा वातावरण बिपत व्यवस्थापन शाखाका प्रकाश एरि, सुनिल कुर्मी लगायत वीरगञ्जका २० वटा निजी अस्पतालबाट २÷२ जना (१ जना व्यवस्थापन र १ जना फोकल पर्सन) सहभागी थिए ।

स्वास्थ शाखाका सह–संयोजक अनिशकान्त कुशवाहाले सहजीकरण गरेको कार्यक्रममा डाक्टर अंजना शाक्यले धन्यवाद ज्ञापन गरेकी थिइन् । 
 

Back to top