×

वीरगञ्ज । आज नयाँ वर्षसँगै सिख धर्मावलम्बीहरुले बैशाखी पर्व पनि मनाउँदै छन् । वीरगञ्जका सिख समुदायले पनि आज बैशाखी पर्व मनाएका छन् । १३ अप्रीलमा बैशाखी पर्व भव्य रुपमा मनाउने सिख समुदायमा प्रचलन छ । यस चाडमा गुरुद्वारा साहेबमा ४८ घण्टे अखण्ड पाठ साहेब राखिन्छ र वाचन गरिन्छ । ३ दिन गुरुजीको अटुट लंगर प्रसाद (निशुल्क भोजन) वितरण गरिन्छ ।  

सिख पंथका दशम गुरु श्री गुरु गोबिन्द सिहंले सिख पंंथलाई नयाँ रुप दिएको समाजसेवी एवम् सिख समुदायका अगुवा जसपाल सिंहले बताए । उनका अनुसार यसलाई खालसा पंथ पनि भनिन्छ । जसको अर्थ हुन्छ मिसावटरहित । कर्म गर्नदेखि भक्ती तथा सेवा गर्नका लागि पनि सिख समुदायले बिशुद्ध रुपमा गर्ने गरेको सिंहले बताए । 

वीरगञ्जस्थित गुरुद्वारामा शुभकामना साटासाट तथा प्रसाद ग्रहण गरेर मनाइएको छ । सो अवसरमा कालु सिंह, रोमी कौर, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रतिनीधि, वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनीधि, विभिन्न संघ संस्थाका व्यक्ति, राजनीतिकर्मी एवम् सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । 

दशम गुरु श्री गुरु गोबिन्द सिंहले १६९९ बैशाखको दिन आनन्दपुर साहेब पंजाबमा खालसा पंथको जग राखेर यस सिख पंथलाई खालसा बनाएर विश्वभरीको मानवता लाई ठुलो गुण लगाएकोले यस दिनलाई नयाँ वर्ष साथै खालसाको जन्म दिवसको रुपमा विश्वभरीका सिख समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।
 

Back to top