×

वीरगञ्ज । वीरगञ्जको माइस्थानमा निशुल्क रुपमा खाना खुवाइएको छ । वीरगञ्जका व्यवसायी तथा समाजसेवीहरुले मिलेर नयाँ वर्षको अवसरमा सर्वसाधारण तथा सो क्षेत्रमा आवतजावत गर्नेहरुलाई निशुल्क रुपमा खाना खुवाएका हुन् । 

समाजसेवीहरु अशोक गुप्ता, प्रकाश बाहेती, राधेश्याम कानु, हरेन्द्र सहनीसँगै मनोज रौनियार लगायतले नयाँ वर्षदेखि नयाँ सामाजिक कार्यको थालनी गरेका हुन् । अबदेखि प्रत्येक साताको शनिवार निशुल्क रुपमा खाना खुवाउने योजना रहेको व्यवसायीसमेत रहेका रौनियारले यात्रा डेलीलाई बताए । 

उनले भने, ‘हामी सबै कुनै न कुनै सामाजिक संघ संस्थामा पनि आवद्ध छौँ । तर संघसंस्थाको प्रचार भन्दा पनि सेवाको भावनाअनुरुप खाना खुवाउने कार्यको सुरुवात गरेका हौँ ।’ भोकाएकाहरुको भोक मेटाउने ठूलो पुण्यको काम भएको उनको भनाई छ । रौनियारका अनुसार आज पहिलो दिन ३ सय जनाले निशुल्क रुपमा खाना खाएका छन् । 

दाल, भात, तरकारी र अचारसहित शाकाहारी खाना खुवाइएको उनले बताए । निशुल्क खाना खुवाउने कार्यबाट विशेष गरी निम्न वर्गीय श्रमिक लाभान्वित भएका छन् । पहिलो दिन ठेला तथा रिक्सा चलाउनेदेखि लिएर नियमित ज्यालामजदुरी गर्ने तथा माइस्थान क्षेत्रबाट आवतजावत गर्ने सर्वसाधारण एवम् पैदल यात्रुहरुसमेत खाना खान पुगेका थिए । 
 

Back to top