×

वीरगञ्ज ।  एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ४: १५ बजेदेखि सुरु हुने छ ।

नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको थियो । त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो ।

नेपाल र कतारको अन्तिम भेट

नेपाल र कतार २०१९ आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रीय छनोट फाइनलको समूह चरणको खेलमा आमेन-सामने भएका थिए । उक्त खेलमा कतार ४ विकेटले विजयी भएको थियो । सिंगापुरमा भएको सो खेलमा नेपालले दिएको १ सय २३ रनको लक्ष्य कतारले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

प्रिमियर कपमा आयोजक ओमान, नेपाल, मलेसिया, हङकङ, युएई, बहराइन, कतार कुवेत, कम्बोडिया र साउदी अरेबिया सहभागी रहेका छन् ।

प्रतियोगितामा सहभागी दश राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा मलेसिया, हङकङ, साउदी अरेबिया र कतार छन् ।

समूह बी मा आयोजक ओमानसहित युएई, कुवेत, कम्बोडिया र बहराइन छन् । प्रतियोगितामा नेपालले तेस्रो खेलमा वैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले वैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी(२० फर्म्याटमा हुनेछ ।

नेपाली टोली : रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।

Back to top