×

फाइल तस्बिर ।

वीरगञ्ज । शुक्रवारदेखि सुरु भएको श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्वको आज दोस्रो दिन हो ।

चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने चैते छठ पर्वको आज दोस्रो दिन व्रतालुले ‘खरना’ विधिको तयारी गरेका छन् । पर्वको पहिलो दिन हिजो व्रतालुहरू ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका थिए । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेसमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि कात्तिकको छठ जति चैती छठ पर्व मनाउने भने देखिँदैनन् ।

आज खरनाका व्रतालुहरूले दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलाहार ग्रहण गर्ने छन् । माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्छन् ।

आज दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्र दर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । व्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।

पर्वको तेस्रो दिन सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई नेपालको भोजपुरी क्षेत्रमा क्षेत्रमा ‘संझिया अर्घ’ भन्ने गरिएको छ । त्यसै गरी सप्तमीका दिन बिहान व्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने चलन छ । यसलाई ‘परना’ भनिन्छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, पुडुकीयासहितका मिष्टान्न परिकार इष्टजनकलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्‍याउन जाने परम्परा छ ।

Back to top