×

वीरगञ्ज । सङ्कल्प लोक सेवाको तेस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम शुक्रवार वीरगञ्ज सम्पन्न भएको छ । सङ्कल्प लोक सेवा आयोगका प्रबन्ध निर्देशक अशोक साहको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) एवम् पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादवले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले सङ्कल्प लोक सेवाले धेरै जनालाई सरकारी जागिर दिन सफल भएको भन्दै धन्यवाद दिए । उनले वीरगञ्ज जस्तो पिछडिएको ठाउँमा सङ्कल्प लोक सेवाले आयोगको तयारी गराएर हजारको सङ्ख्यामा सरकारी जागिर दिलाउन सफल भएको बताए ।
 
सांसद यादवले लोक सेवा तथा शिक्षक सेवा आयोगमा नाम निकाल्ने मधेसीको सङ्ख्यामा वृद्धि भएको बत्ताउँदै त्यसमा सङ्कल्प लोक सेवा आयोग र अशोक सरको ठुलो योगदान रहेको बताए ।

उनले मधेस आन्दोलनले गर्दा आएको आरक्षणका कारण पनि मधेसी धेरै जनाले सरकारी जागिर पाएको बताए । मधेस आन्दोलन नभएको भए मधेसी, जनजातिलाई जागिर पाउन धेरै कठिन भएको बत्ताउँदै उनले अहिले सहज भएको बताए ।
 
उनले भने “पहिला मात्र मधेसका शिक्षक हुन्थ्यो । अहिले पहाडमा पनि मधेसी समुदायका अधिकृत देख्दा खुसी लाग्छ । यो सबै मधेस आन्दोलनको उपलब्धि हो ।” २०६२/०६३ को आन्दोलनले गर्दा नै ४५ प्रतिशत आरक्षणको व्यवस्था आएको उनको भनाई थियो । मधेस प्रदेशको दुई ठाउँमा लोक सेवा आयोगको परीक्षाको सेन्टरको व्यवस्था हुनु पर्ने बत्ताउँदै उनले त्यसको लागि आफूले पहल  गर्ने पनि बताए ।
 
अर्को प्रसङ्गमा कुरा राख्दै सांसद यादवले देशमा सङ्घीयताको खारेजको ठूलो षडयन्त्र भइरहेको बत्ताउँदै सतर्क हुन जरुरी रहेको बताए । 

एक वर्षमा एक सय ४० जना पास

कार्यक्रममा सङ्कल्प लोक सेवा आयोगमा पढेर २०८० सालमा नाम निकाल्नेहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा निमाविको लाइसेन्स परीक्षा पास भएको ३८ जना र मावि तहको लाइसेन्स परीक्षा पास भएका ३१ जनालाई सम्मान गरिएको थियो ।
 
त्यसै गरी शिक्षक सेवा आयोगको परीक्षा पास गरी शिक्षकको स्थायी नियुक्तिको लागि सिफारिस भएका निमावि तहका ३ जना, मावि तहका ४ जना र प्रावि तहका ३२ जनालाई पनि सम्मान गरिएको थियो । यसै गरी सङ्कल्प लोक सेवा आयोगबाट नै पढेर लोक सेवा आयोगको परीक्षा पास भई नायब सुब्बा ४ जना, सशस्त्र प्रहरी जवान ४ जना र नेपाल आर्मी २१ जना भएको सङ्कल्प लोक सेवाका प्रशिक्षक सरोज साहले जानकारी दिए ।

वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, रेल्वे मावि वीरगञ्जका प्रधानाध्यापक प्रभु रौनियार लगायतले मन्तव्य राखेका थिए ।
 
सङ्कल्प लोक सेवा आयोगका वरिष्ठ प्रशिक्षक प्रेम शङ्कर श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी माधुरी महतोले गरेकी थिइन ।

Back to top