×

वीरगञ्ज । राष्ट्रिय एकता अभियानले जानकी मन्दिरबाट आफ्ना नेताहरू मनिष पूर्वे र ज्ञानेन्द्र झाको पक्राउको विरोध विज्ञप्ति जारी गरेको छ ।

अभियान महासचिव डा. प्रभात कुशवाहाले विज्ञप्ति जारी गर्दै आफ्ना नेताहरूको पक्राउलाई असंवैधानिक र अलोकतान्त्रिक कुकृत्यको संज्ञा दिँदै घोर भर्त्सना समेत गरेका छन् । 

जानकी मन्दिरको प्राङ्गण भित्र युवा युवतीहरू अश्लील क्रियाकलाप गरिरहेका गरेको देखेर विरोध गर्दा दुवै हिन्दु अभियन्ताहरूलाई जिल्ला प्रहरी धनुषाले पक्राउ गरेको बुझिएको छ । 

विज्ञप्तिमा भनिएको छ, “सङ्घीय लोकतान्त्रिक हिन्दु गणतन्त्रको स्थापनाको लागि प्रतिबद्ध अभियानका कार्यकर्ताहरूलाई पटक-पटक पक्राउ गर्ने, सरकारी संयन्त्र मार्फत धम्क्याउने, अभियानका शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्ने कार्यले सरकारी संयन्त्र नै सङ्घीयता र लोकतन्त्र समाप्त गरी नेपालमा एकात्मक राजतन्त्र फर्काउन लागेको ठहर हुन्छ । तर हजारौँ नागरिकको बलिदानपश्चात् मुलुकले पाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई अक्षुण्ण राख्न हामी सङ्घर्षरत गर्ने छौ ।” 

अभियानले जानकी मन्दिरको गरिमामाथि आँच पुर्‍याउने असामाजिक तत्त्वहरू तुरुन्तै पक्राउ गरी हिन्दु अभियानहरू मनिष पूर्वे र ज्ञानेन्द्र झालाई तत्काल रिहा गर्न माग समेत गर्दै त्यसो नगरिएको खण्डमा अभियान आन्दोलनका कडा कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुने  सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

Back to top