×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा ५ करोड ८७ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । चैत महिनाभित्र जिल्ला प्रहरी कार्यालय पर्साले ५ करोड ८७ लाख ३६ हजार ७९९ रुपैयाँ बराबरका अवैध सामग्री भन्सारमा दाखिला गराएको पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयबाट परिचालन भएको टोलीले चैत महिनामा १ करोड २३ लाख ४६ हजार ४९९ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

सोही अवधिमा १ करोड १० लाख ८७ हजार ७१० रुपैयाँ बराबरका सवारी साधन तथा पार्टपुर्जा बरामद गरिएको प्रहरी उपरीक्षक ढुङ्गेलले यात्रा डेलीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । एसपी ढुङ्गेलका अनुसार २ करोड १० लाख ७८ हजार ६८१ रुपैयाँ बराबरको विद्युतीय सामग्री बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 

एक महिनामा पर्साका विभिन्न स्थानबाट १ करोड ४२ लाख २३ हजार ९१७ रुपैयाँ बराबरका किराना तथा खाद्यान्न सामग्री बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

अवैध रुपमा चोरी पैठारी गरी भन्सार छलेर ल्याइएका सामग्री वीरगञ्ज भन्सार कार्यालयसँगै राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले जानकारी दिए । 
 

Back to top